
काठमाडौं— पशुपतिनाथ मन्दिरको नाम सुन्नेबित्तिकै उपासना र आराधना गर्न मन लाग्छ । त्यसैले पशुपतिनाथमा दर्शनका लागि प्रत्येक दिन स्वदेशी–विदेशी भक्तजनको भीड हुन्छ ।
विश्व सम्पदा सूचीमा सूचीकृत पशुपतिनाथ ऐतिहासिक, धार्मिक एवम् पर्यटकीय गन्तव्यस्थल हो । शैव, शाक्त, वैष्णव,बौद्ध, जैन, सौर, गाणपत, नाथ, शिख आदि प्रमुख सम्प्रदायका भक्तजनका लागि पशुपति क्षेत्र सदैव सम्मान, आस्था एवम् श्रद्धाको केन्द्र बनेको छ ।
पशुपति क्षेत्रमा विभिन्न सम्प्रदायका विभिन्न स्मारक एवम् पूजास्थल (अखाडा) पनि छन् । पशुपतिनाथको मन्दिर एक जीवन्त सम्पदाको रूपमा छ । जहाँ जन्मदेखि मृत्युसम्मका संस्कार सम्पन्न गरिन्छ । साथै यो पावन स्थलमा बाग्मती नदीले अझै महिमा बढाएको छ ।
पशुपतिनाथमा पुगेर एक दिन नियाल्नुस्, दुनियाँ रमाइलो र फिक्का छ जस्तो लाग्छ । बिहानै पूजापाठ, मध्यान्ह पर्यटकको चहलपहल, भक्तजनको रमाइलो देख्दा सबै छ जस्तो लाग्छ तर पशुपति परिसरकै आर्यघाटलाई नियाल्नुस् अन्त्यमा त्यसरी नै जानुपर्छ भन्ने लाग्छ ।
पशुपतिमा सबै छ र केही छैन । पशुपतिमै कोही रुन्छन्, कोही हाँस्छन्, कोही खेल्छन्, कोही कराउँछन्, कोही भगवान् खोज्दै पुग्छन्, कोही भगवानसँगै पुग्छन्, कोही जन्मिन्छन् र कोही मर्छन् । जीवनचक्र यस्तै छ ।
बाँकी हेर्नुहोस् तस्बिरहरूमा
तस्बिरहरू : न्यूज एजेन्सी नेपाल