
काठमाडौं— सरकारले त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेमबहादुर चलाउनेमाथि भएको सांघातिक हमलामा संलग्न अभियुक्तविरुद्धको मुद्दा फिर्ता लिएको छ ।
मंगलबार जिल्ला अदालत काठमाडौंमा मुद्दाको अन्तिम सुनुवाइ हुँदै गर्दा बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सांघातिक हमलामा संलग्न अभियुक्तविरुद्धको मुद्दा फिर्ता लिने निर्णय गरेको हो । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले मुद्दा फिर्ता गर्ने प्रस्ताव मन्त्रिपरिषद्मा लगेका थिए ।
स्रोतका अनुसार महान्यायाधिवक्ता कार्यालय हुँदै मन्त्रिपरिषद्को निर्णय आइतबार जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंबाट जिल्ला अदालतमा पुगेको छ । अदालतमा पत्र दर्ता भइसकेको छ ।
उपप्राध्यापक चलाउनेमाथि २०७७ साल असोज २० गते विश्वविद्यालयस्थित नेपाल विद्यार्थी संघ (नेविसंघ) का अध्यक्ष हरिप्रसाद आचार्य र योगेन्द्र रावलको योजनामा सांघातिक हमला भएको थियो ।
हमलामा रूपेश साह, नीरज रानामागर, सयुस भनिने सयुज श्रेष्ठ र दीपकराज ओझा संलग्न थिए । विश्वविद्यालय परिसरमै आक्रमण भएको थियो ।
उनलाई बाँसका भाटाले टाउको, शरीर, हात, खट्टामा निर्ममतापूर्वक प्रहार गरिएको थियो । घटनामा उनको खुट्टा, ढाड, करङ र टाउकोमा गम्भीर चोट लागेको थियो । करिब ६ महिनाको उपचारपछि मात्रै उनी नियमित काममा फर्किन सकेका थिए ।
उपप्राध्यापक चलाउनेले मुद्दा फिर्ता गर्ने सरकारको निर्णयले स्तब्ध बनाएको बताएका छन् । उनले कानुनी राज्यको उपहास भएको प्रतिक्रिया दिएका छन् ।
आफूविरुद्ध राज्य नै लागेको र न्याय माग्न अब जाने ठाउँ नभएको बताए । उनले जिल्ला अदालत परिसरमा आमरण अनशन बस्ने घोषणासमेत गरेका छन् ।