
दाङ— कीर्ते हस्ताक्षर गरी नागरिकता बनाएको आरोपमा प्रहरीले आठ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा दाङ राजपुर गाउँपालिका–५ सिमल खुटीका ज्ञानबहादुर विक, जोगिनी विक, नागरिकता लिने नाति विवेक विक, नागरिकता बनाउनका लागि साक्षी बस्नेहरू सावित्रा कुमारी विक, गौसरी बोहरा, दुधिमाया घर्ती, रमेश घर्ती र मनकुमारी घर्ती रहेका छन् ।
ज्ञान बहादुरले आफ्नी छोरीको छोरा विवेकलाई आफ्नै छोरा भनी कीर्ते हस्ताक्षर गरेर नागरिकता बनाइदिएको उजुरी जिल्ला प्रशासन कार्यालय दाङमा परेपछि प्रहरीले उनीहरूलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता तथा डीएसपी राजन गौतमले जानकारी दिए ।
उनले गएको वैशाख २७ गते गाउँका पाँच जनालाई वडामा साक्षी बसाएर नातिलाई छोरा बनाइ जन्म दर्ता बनाएको प्रहरीले जनाएको छ ।
जन्मदर्ताको आधारमा विश्वकर्मालाई वडाले नागरिकताको लागि सिफारिस समेत दिएको बताइएको छ । त्यसपछि वैशाख २८ गते इलाका प्रशासन कार्यालय लमहीबाट सिफारिसका आधारमा विवेकले नागरिकता प्राप्त गरेको खुलेको छ ।
डीएसपी गौतमका अनुसार राजपुर गाउँपालिका टंकबहादुर विष्ट र वडा सचिव फरार रहेका छन् । पक्राउ परेका आठ जनालाई अदालतबाट म्याद लिएर अनुसन्धान भइरहेको गौतमले बताए ।