News Griha :: न्यूजगृह
अर्काको नाममा ड्राईभिङ लाइसेन्सको ट्रायल दिने पक्राउ

काठमाडौं— नक्कली परीक्षार्थी बनेर अर्काको नाममा ड्राईभिङ लाइसेन्सको ट्रायल (प्रयोगात्मक परीक्षा) दिने एक जनालाई आइतबार ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ । रामेछापको सुनापती गाउँपालिका १ का २३ वर्षीय सुमन चौलागाईँलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयबाट खटिएको ट्राफिक प्रहरीले काठमाडौंको गुर्जुधारा ट्रायल सेन्टरबाट रामेछापका ३० वर्षीय राजेन्द्र चौलागाईँको दुईपाङ्गे सवारीसाधनको ट्रायल दिँदै गरेको अवस्थामा सुमनलाई फेला पारेको थियो ।

सुमनलाई थप अनुसन्धान तथा कारबाहीका लागि प्रहरी वृत्त थानकोट पठाइएको छ । अर्काको नाममा झुक्याएर ट्रायल दिने प्रवृत्तिलाई रोक्न विशेष कडाइ गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाह पथका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले बताए ।

प्रकाशित मिति: आइतबार, असार ३, २०८०  १९:१८
Weather Update