News Griha :: न्यूजगृह
पाँचथर बाढीपहिरो अपडेट : उद्धार गरिएकी बालिकाको मृत्यु

मिक्लाजुङ— पाँचथरको फालेलुङ गाउँपालिका–३ मा पहिरोमा परेर जीवित उद्धार गरिएकी नौ वर्षीया बालिकाको मृत्यु भएको छ ।

स्थानीयवासीले फालेलुङ–३ खोलाघारीस्थित मनप्रसाद राईको घरमा पुरिएकी जुना सावदेनको आइतबार बिहान जीवितै उद्धार गरेका थिए ।

जुना मनप्रसादकी नातिनी हुन् । उनी मावली घरमा बसेर स्थानीय विद्यालयमा अध्ययन गर्दै आएकी थिइन् ।

बिहान जीवित उद्धार गरिएकी जुना सावदेनको पाँचथर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायब उपरीक्षक हरि खतिवडाले जानकारी दिए ।

मध्यरातमा घर माथिबाट खसेको पहिराेले मनप्रसादको घर बगाएको थियो । मनप्रसाद र उनकी श्रीमती भागेर ज्यान बचाउन सफल भए पनि सुतिरहेकी जुना पहिरोमा फँसेकी थिइन् ।

प्रकाशित मिति: आइतबार, असार ३, २०८०  १८:५८
Weather Update