News Griha :: न्यूजगृह
ताप्लेजुङमा पहिरोले पुरिएर बेपत्ताको खोजी तीव्र

फुङ्लिङ— ताप्लेजुङमा शनिबार राति गएको पहिरोले पुरिएर बेपत्ता भएकाहरूको खोजी तीव्र पारिएको छ । प्रहरीका अनुसार आइतबार बिहान सबेरैदेखि बेपत्ता हुनेहरूको खोजी तीव्र पारिएको हो ।

निरन्तरको वर्षासँगै गएराति गएको पहिरोले पुरिएर जिल्लाको सिदिङ्वा गाउँपालिका–६ मेहेले भालुखोपका एकै परिवारका तीनसमेत चार जना बेपत्ता भएका छन् । मेहेलेका स्थानीय यादव बुढाथोकीकी श्रीमती भगीमाया, बुहारी सन्ध्या र नाति प्रज्जवल बेपत्ता भएका हुन् ।

यस्तै सोही स्थानका गणेश तामाङलाई पनि पहिरोले बगाएर बेपत्ता भएको छ ।  बेपत्ता हुनेको अहिले खोजी सुरु भएको ताप्लेजुङका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक राजन लिम्बूले जानकारी दिए । उनका अनुसार बेपत्ताको खोजीमा इलाका प्रहरी कार्यालय तेल्लोकबाट प्रहरी टोली खटेको छ ।

यता वर्षाको क्रम निरन्तर रहेकाले पहिरोले पुरिएर बेपत्ता हुनेको खोजी तथा अन्य जोखिममा परेकाको उद्धारको कार्यमा कठिनाइ भएको प्रमुख जिल्ला अधिकारी गोमादेवी चेम्जोङले बताइन् । यद्यपि मौसम प्रतिकूल भए पनि बेपत्ता हुनेको खोजी र जोखिममा परेका परिवारको उद्धारमा सम्बन्धित स्थानीय तह तथा जनप्रतिनिधिसँग समन्वय गरेर सुरक्षाकर्मी खटिसकेको प्रजिअ चेम्जोङले बताइन् ।

यसैगरी चार दिनदेखिको निरन्तरको वर्षाका कारण जिल्लाका विभिन्न ठाउँमा बाढी पहिराले मानव बस्तीलाई जोखिम बनाएको छ भने ठाउँ–ठाउँमा भौतिक संरचनामा क्षति पुर्‍याएको छ ।

प्रकाशित मिति: आइतबार, असार ३, २०८०  ०९:५८
Weather Update