News Griha :: न्यूजगृह
पाँचथरमा बाढीले बगाउँदा पाँच बेपत्ता, मेची राजमार्ग अवरुद्ध
अविरल वर्षासँगै आएको बाढीले बगाएको मेची राजमार्गअन्तर्गत हेवा खोलाको पुल । बाढीले पुल बगाएपछि राजमार्ग पूर्णरुपमा ठप्प भएको छ । तस्बिर : रवीन्द्र काफ्ले/रासस

मिक्लाजुङ— गएरातिदेखि परेको अविरल वर्षासँगै आएको बाढीले बगाउँदा पाँचथरमा पाँच जना बेपत्ता भएका छन् ।

बेपत्ता हुनेमा हेवा–१ जलविद्युत् आयोजनामा कार्यरत हिलिहाङ–७ का दिलकुमार तामाङ र फिदिम–१० का सन्जोग लोवा, फिदिम–४ माझीटारमा बोत्तल हाउस सञ्चालन गरेर बसेका आशिष र एलिसा माझी र फिदिम–४ हेवाखोलाबाट एक जना रहेका छन् ।

फालेलुङ—३ खोलाघारी सेपीमा पहिराेले पुरेको बालिकाको सकुशल उद्धार भएको वडाध्यक्ष शक्ति केरुङले जानकारी दिए ।

वर्षात्ले  मेची राजमार्गस्थित पाँचथर जिल्लाको फिदिम नगरपालिका–४ र हिलिहाङ गाउँपालिका–७ जोड्ने हेवाखोला पुल समेत बगाएको छ ।

पुल बगाएपछि मेची राजमार्ग पूर्णरूपमा अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायब उपरीक्षक हरि खतिवडाले बताए ।

तमोर करिडोरको ‘बेलीब्रिज’ बगाएको छ । याङ्वरक गाउँपालिका–३ र २ मा घर बगाएको स्थानीयले बताएका छन् ।

यस्तै फालेलुङ गाउँपालिका–३ मच्छेबुङमा मोटरेबल पुल बगाएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । 

प्रकाशित मिति: आइतबार, असार ३, २०८०  ०८:०८
Weather Update