
काठमाडौं— शहरी विकासमन्त्री सिता गुरुङले काठमाडौंको गुह्येश्वरीमा निर्माण गरिएको ‘फोहोर पानी प्रशोधन प्लान्ट’को अनुगमन गरेकी छन् ।
शनिबार बिहान मन्त्रालयका सचिव नविन्द्रनाथ श्रेष्ठसहितको टोली लिएर गुह्येश्वरी पुगेकी मन्त्री गुरुङले प्लान्टको राम्रो पक्षको प्रचार–प्रसार गर्न र प्लान्ट निर्माणको क्रममा भएका गल्ती कमजोरीहरू फेरि दोहोरिन नदिनका लागि आफूले अनुगमन गर्नु परेको बताइन् ।
उनले सरकारले अन्य ७ वटा त्यस्तै खालको प्लान्ट पनि निर्माण गर्ने चरणमा रहेकाले त्यसलाई प्रभावकारी ढंगले अघि बढाउन पनि यस प्लान्टबाट सिकेर अघि बढनु उपयोगी हुने समेत स्पष्ट पारिन् ।
मन्त्री गुरुङले सो प्लान्टबाट मात्रै बागमती नदीको पानी सफा हुन्छ भन्ने सोचाइ राख्न नहुने पनि बताइन् ।
मन्त्री गुरुङलाई सो प्लान्टबारे अधिकार सम्पन्न बाग्मती सभ्याता एकीकृत विकास समितिका पदाधिकारीहरूले जानकारी दिएका थिए । सरकारले काठमाडौंको बागमती नदीलाई सफा राख्नका लागि फोहोर पानी प्रदूषण प्रशोधन प्लान्टको निर्माण कार्यक्रमलाई चरणबद्ध रूपमा अघि बढाउने गरी आवश्यक नीति तथा कार्यक्रम र बजेट तय गरेको छ ।