News Griha :: न्यूजगृह
लागूऔषध कारोबारमा संलग्न ६ जना पक्राउ
लागूऔषध खैरो हेरोइन ।

काठमाडौं— प्रहरीले विभिन्न जिल्लाबाट लागूऔषधसहित ६ जनालाई पक्राउ गरेको छ ।

विभिन्न मितिमा पक्राउ परेका उनीहरूलाई प्रहरीको लागूऔषध नियन्त्रण ब्युरोले शुक्रबार सार्वजनिक गरेको हो ।

ब्युरोका अनुसार जेठ ३२ गते काभ्रेबाट भोजपुरका ३० वर्षीय लाक्पा शेर्पा र काभ्रेका १८ वर्षीया संगीता तामाङ लागूऔषध खैरो हेरोइनसमेत पक्राउ परेका हुन् ।

उनीहरूको साथबाट ६५ ग्राम खैरो हेरोइन, डिजिटल तराजु थान १ तथा ३ लाख १९ हजार रुपैयाँ बरामद भएको छ । त्यस्तै, ब्युरोको पर्सा कार्यालयबाट खटिएको टोलीले वीरगञ्जस्थित रजतजयन्ती चोकबाट २१ वर्षीय ओहान हुसेन अन्सारीलाई पक्राउ गरेको हो ।

उनको साथबाट नियन्त्रित लागूऔषध नाइट्रोभेट १२ सय ट्याब्लेट बरामद भएको छ । ब्युरोको बाँके कार्यालयबाट खटिएको टोलीले कैलालीबाट ५४ वर्षीय सुकानु चौधरीलाई पक्राउ गरेको हो । उनको साथबाट ३८ ग्राम ४८० मिलिग्राम खैरो हेरोइन बरामद भएको ब्युरोले जनाएको छ ।

जेठ २७ गते ब्युरोको धनुषा कार्यालयबाट खटिएको टोलीले सिरहाबाट २६ वर्षीय मोहमद एकपाल मियालाई नियन्त्रित लागूऔषध डाइजापाम ५०० एम्पुल,फेनारगन ५०० एम्पुलनोर्फिन ५०० एम्पुलसहित पक्राउ गरेको छ । जेठ ३१ गते ब्युरोको बाँके कार्यालयबाट खटिएको टोलीले नेपालगञ्ज— १५ जमुनाहाबाट १८ वर्षीय ज्ञानेन्द्र बिकलाई पक्राउ गरेको छ । उनको साथबाट २० ग्राम खैरो हेरोइन प्रहरीले बरामद गरेको छ । 

प्रकाशित मिति: शुक्रबार, असार १, २०८०  १५:०३
Weather Update