प्रहरी
गृह मन्त्रालयले गर्यो एसएसपी योगबहादुर पाललाई निलम्बन, सहकर्मीलाई दुर्व्यवहार गरेको आरोप

काठमाडौं— महिला सहकर्मीलाई दुर्व्यवहार गरेको आरोपमा नेपाल प्रहरी वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) योगबहादुर पाल निलम्बनमा परेका छन् ।
घटना अनुसन्धानका लागि गृह मन्त्रालयले शुक्रबार एसएसपी पाललाई निलम्बन गरेको हो । प्रहरी प्रधान कार्यालयले बिहीबार पाललाई निलम्बनका लागि गृहमा सिफारिस गरेको थियो ।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयमा कार्यरत प्रहरी कर्मचारीमाथि दुर्व्यवहार गरेको आरोपपछि उनलाई काठमाडौंस्थित मुख्यालयमा तानिएको थियो । घटना छानविन गर्न सुदूरपश्चिम प्रदेश प्रहरीले समिति बनाएको थियो । उक्त समितिकै सिफारिसमा प्रहरी मुख्यालयले पालको निलम्बन गर्न गृहमा सिफारिस गरेको हो ।
प्रहरी केन्द्रीय प्रवक्ता कुवेर कडायतका अनुसार प्रहरी मुख्यालयकै सिफारिसमा पाललाई निलम्बन गरिएको हो ।
प्रकाशित मिति: शुक्रबार, असार १, २०८० १४:३३