News Griha :: न्यूजगृह
सुत्केरी गराउने क्रममा आमा र शिशुको मृत्यु
प्रतीकात्मक तस्बिर ।

तनुहँ— व्यास नगरपालिका–१२ कमलबारी निवासी २७ वर्षीय शर्मिला दरै र शिशु दुवैको सुत्केरी गराउने क्रममा मृत्यु भएको छ । जेठ २८ गते उपचारका लागि पोखरास्थित क्षेत्रीय गण्डकी अस्पतालमा लगिएको र उपचारको सिलसिलामा आमा र शिशुको मृत्यु भएको हो । 

चिकित्सकको लापर्बाहीका कारण महिला र शिशुले ज्यान गुमाउनुपरेको मृतकका आफन्तजनले बताएका छन् । छानबिनको लागि कास्कीका प्रमुख जिल्ला अधिकारीसमक्ष उजुरी दिइएकाले पोष्टमार्टमको रिर्पोट आएपछि छलफल गर्ने सहमति भएको मृतककी हजुरबुबा चीजबहादुर दरैले जानकारी दिए । 

‘भोलि पोष्टमार्टमको रिर्पोट आउँछ, त्यसपछि उपचारमा सङ्लग्न चिकित्सक दोषी ठहरिए कानुनी कारबाही अघि बढ्छ,’ मृतकका आफन्तजनले अझै शव बुझ्न नमानेको उनले बताए । 

घटनापश्चात् पीडितपक्ष र अस्पतालका चिकित्सकबीच भएको छलफलमा चिकित्सक टोलीले महिला र शिशु दुवैलाई बचाउन हरपल प्रयत्न गरेपनि बचाउन नसकेको बताएको हजुरबुबा चीजबहादुरले जानकारी दिए । 

छलफलका क्रममा सुत्केरीको पानीको पोको फुटेपछि रगतसँग घुलेर शरीरका अन्य भागमा पुगेकाले दुवै जनालाई बचाउन नसकिएको चिकित्सकको भनाइ उद्धृत गर्दै उनले उल्लेख गरे । 

‘चिकित्सकले उपचार पद्धतिअनुरूप नै उपचार गरेको र गल्ती कही पनि नगरेको भन्दै स्वीकार गरे पनि आमा र शिशु दुवैको मृत्यु भएपछि चिकित्सकको लापर्बाही भएको अनुमान गरेका हौँ,’ हजुरबुबा चीजबहादुरले भने, ‘छानबिनको लागि प्रक्रिया अघि बढाएका छौँ, छानबिन भएपछि पुनःएक पटक बसेर छलफल गर्ने योजना बनाएका छौँ ।

प्रकाशित मिति: बुधबार, जेठ ३१, २०८०  १४:०३
Weather Update