
काठमाडौं— सर्वोच्च अदालतको आदेशपछि नागरिकता विधेयक रोकिएपछि नागरिकताविहीन सयौँ युवाहरू आन्दोलनमा उत्रिएका छन् ।
मंगलबार माइतीघर मण्डलामा प्रदर्शनको क्रममा एक युवकले आत्मदाहको प्रयास गरेका छन् । उनलाई प्रदर्शनमा सहभागी युवाहरू र सुरक्षाकर्मीले रोकेका थिए ।
प्रदर्शन आक्रोशित बनेपछि प्रहरी र प्रदर्शनकारीबीच झडप समेत भएको थियो । स्थिति तनावपूर्ण हुने अवस्था देखिएपछि प्रहरीले बल प्रयोग गर्नुपर्ने अवस्था आएको थियो । आन्दोलनमा सहभागी नागरिकताविहीन एक युवाले आफूहरूले नागरिकता पाउने अवस्था नभए जे पनि गर्न तयार हुने चेतावनी दिए ।
उनले भने, ‘आफूहरूलाई नागरिकताविहीन बनाउन केही लागिपरेका छन्, उनीहरू अधिवक्ताको नाममा आफूहरूलाई नागरिकता नदिलाउन सक्रिय छन्, हामीले नागरिकता पाउने सबै अधिकार जुटाउँदासम्म पनि विभेद गरिँदै आएको छ, एउटा नेपालीले आफ्नो देशको नागरिकता नपाउनु कुन हदसम्मको दुःखद पक्ष हो, यो कुरा राज्यले बुझेर पनि अरूले नबुझे जस्तो गर्नु न्याय नदिनु सरह हो ।’