News Griha :: न्यूजगृह
पशुपतिमा चढाइएको जलहरीमा १० केजी सुन भएको पशुपति क्षेत्र विकास कोषको दाबी

काठमाडौं— पशुपति क्षेत्र विकास कोषले पशुपतिनाथ मन्दिरमा चढाइएको सुनको जलहरीमा १० केजी नै सुन रहेको दाबी गरेको छ ।

मंगलबार संघीय संसद् राष्ट्रिय सभा अन्तरगतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा कोषका सदस्य–सचिव डा. मिलनकुमार थापाले स्पष्टीकरण दिँदै सो जलहरीमा १० केजी सुन नपुगे आफू फाँसीको सजाय भोग्न तयार रहेको बताए । 

आफूले पटक–पटक सो जलहरीको सुन तौल लिन गरेको आग्रहलाई बेवास्ता गरेर राज्यले आफूलाई चोर करार गर्न खोजेको भन्दै सदस्य सचिव थापाले गहँभरी आँशु झारे । आफ्ना दुई सन्तान रहेका र उनीहरूको भविष्य समेत अन्धकार हुनेगरी आफूलाई सुन चोरको आरोप लगाइएको दुखेसो पोख्दै उनले राज्यको नीति यहीँ हो ? भनि प्रश्न समेत रे । 

सदस्य सचिव थापाले आफूलाई पशुपति क्षेत्रको भेटी, जग्गालगायतका सम्पत्ति दुरुपयोग गरेर बाँच्नु नपर्ने पनि बताए । उनले यो केसमा आफूले न्याय नपाएर आत्महत्याको बाटो रोज्नुपर्ने अवस्था आएको हो र ? भनी सांसदहरूसँग जिज्ञासा समेत राखे । 

सदस्य सचिव थापाले जलहरी प्रकरणको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन नगरी जथाभावी आरोप लगाउन नमिल्ने बताए । त्यस सम्बन्धमा आफूले महालेखा परीक्षकको कार्यालयमा यथार्थ जानकारी गराउँदा पनि गलत ढंगले प्रतिवेदन आएको उनको दाबी छ । बैठकमा सांसदहरूले जलहरी प्रकरणबारे सदस्य सचिव थापासँग जिज्ञासा राखेका थिए ।

प्रकाशित मिति: मंगलबार, जेठ ३०, २०८०  १५:३०
Weather Update