News Griha :: न्यूजगृह
सुगम जिल्ला चितवनको हात्तीवाङ्ग र हपनीमा अझै पुगेन बिजुली

मुग्लिन— तपाईंलाई पत्यार नलाग्न सक्छ ! चितवनका बासिन्दा अझै पनि टुकी बत्तीको भरमा बस्न बाध्य छन् । किनकि चितवन सुगम जिल्ला भनेर परिचित छ । तर, चितवनको एकमात्र गाउँपालिका इच्छाकामनाको पहाडी दुर्गम बस्तीका स्थानीयले अझै विद्युत उपयोग गर्न पाएका छैनन् । 

इच्छाकामना गाउँपालिकाको वडा नं १ र २ का लागि चार वर्षअघि ठेक्का लागे पनि ठेकेदारले काम नगरेपछि यहाँका स्थानीय विद्युत् सेवाबाट वञ्चित हुन पुगेका हुन् । गाउँपालिका अध्यक्ष दानबहादुर गुरुङका अनुसार चार वर्षअघि ठेक्का लागे पनि ठेकेदार कम्पनीले काम नगर्दा विद्युत् सेवा विस्तार गर्न ढिला भएको हो ।

उनका अनुसार विद्युतीकरणका लागि वडा नम्बर १ र २ मा आर्थिक वर्ष २०७५/७६ मै बोलपत्र भएर पनि काम अघि बढेन । सो समयमा विद्युतीकरणका लागि ठेक्का लिएर ठेकेदार कम्पनीले समयमा काम नगरिदिँदा विद्युत् सेवा विस्तार गर्न सकेन । अहिले काम नगर्ने ठेकेदारलाई मुद्दा हालेर ठेक्का रद्द गरेर पुनः ठेक्का लगाएर काम पनि अघि बढेको अध्यक्ष गुरुङले बताए । 

‘काम नगर्ने ठेकेदारलाई मुद्दा हालेपछि पुनः चालु वर्षमै नयाँ बोलपत्र आह्वान भयो, त्यतिखेर छ करोडको ठेक्का लागेको थियो, अहिले १४ करोडमा स्तरवृद्धि र विस्तारको काम थालनी भएको छ, अब कुनै पनि बहानामा काम रोकिँदैन, प्राधिकरणसँगको समन्वयमा काम भइरहेको छ,’ अध्यक्ष गुरुङले भने । चालु आवको दोस्रो चौमासिकभित्रै ठेक्का प्रक्रिया टुङ्गिएर नयाँ ठेकेदारले जिम्मा लिएपछि अहिले विद्युत् सेवा पुग्न बाँकी गाउँमा धमाधम विद्युतीकरणको काम सुरु भएको उनले बताए । 

गाउँपालिकामा समग्रमा ५५ प्रतिशत घरमा मात्र विद्युत् पुगेको छ । अध्यक्ष गुरुङका अनुसार वडा नं ३, ४ र ५ को ९० प्रतिशत घरमा बिजुली पुगिसकेको छ । तर, पहाडी क्षेत्र अधिक रहेको वडा नं १ मा १५ प्रतिशत, ६ मा ५० प्रतिशत घरमा मात्र बिजुली पुगेको छ । वडा नं २ मा कुनै पनि ठाउँमा बिजुली छैन । विद्युतीकरणको क्रममा केही समयअघि पर्यटकीय एवं ऐतिहासिक क्षेत्र उपरदाङगढीमा बिजुली बलेसँगै वडा नंं ७ को भने सबै ठाउँमा बिजुली पुगिसकेको उनले बताए । 

वडा नं २ मा विद्युत् विस्तारका लागि पोल पुगेपछि स्थानीयमा आशा भने पलाएको छ । ‘चार वर्षअघि नै ठेक्का आह्वान भएको सुनेका थिएँ, काम सुरु नहुँदा आश नै मरेको थियो, तर, अहिले घरको आँगनमै पोल झरेपछि आशा पलाएको छ,’ स्थानीय टीका गुरुङले भने । 

यस्तै यतिबेला टोलटोलमा बिजुली पोल ढुवानीको काम भइरहेको इच्छाकामना–२ का वडाध्यक्ष पञ्चबहादुर चेपाङले बताए । यहाँका सबै टोलटोलमा सडक पुगे पनि बिजुली बाल्नबाट यहाँका स्थानीय बञ्चित भएको उनको भनाइ छ । अब भने बिजुली बल्नेमा ढुक्क भएको उनको भनाइ छ ।

अहिले नेपाल विद्युत् प्राधिकरणसँगको समन्वयमा काम भइरहेकाले पोल र तार प्राधिकरणले नै खरिद गरेर पठाएको तथा पोल गाड्ने र तार टाँङ्ने काम ठेकेदार पक्षले गर्ने भएको गाउँपालिका अध्यक्ष गुरुङले बताए । इच्छाकामनाको सबै वडामा विद्युत् विस्तार र स्तरवृद्धिको काम हुन लागेको हो । अध्यक्ष गुरुङका अनुसार काममा कुनै अवरोध नभएमा आगामी आवभित्रै इच्छाकामनाका सबै स्थानमा विद्युत् पुग्नेछ । गाउँपालिकाले विद्युतीकरणसँगै विपन्न समुदायको नागरिकको घरमा निःशुल्क विद्युत् मिटरसमेत जडान गर्दै आएका छन् ।

साथै सामर्थ्य उच्च बनाउनका लागि गाउँपालिकामै ‘सबस्टेशन’ राख्नका लागि पनि पहल भइरहेको उनले जानकारी र्दिए । गाउँपालिकामै ‘सबस्टेशन’ बनाएर गोरखाबाट लाइन जोडेपछि चौबीसै घन्टा विद्युत्मा पहुँच हुने उनको भनाइ छ । रासस

प्रकाशित मिति: मंगलबार, जेठ ३०, २०८०  ११:१८
Weather Update