
काठमाडौं— भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको एक वर्षपछि राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगमले पहिलोपटक मलेसिया-भैरहवा-काठमाडौं व्यवसायिक उडान सुरु गरेको छ ।
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा मंगलबार बिहान पौने ९ बजे निगमको १ सय ५८ सिट क्षमताको न्यारोबडी विमान मलेसियाको क्वालालम्पुरबाट भैरहवामा अवतरण भएको छ ।
साढे ७ बजे अवतरण हुने भनिएको जहाज झण्डै डेढ घण्टा ढिलो अवतरण भएको हो । विमानबाट ३१ जना यात्रु भैरहवा अवतरण भएका छन् ।योसँगै मङ्गलबारबाट भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सुरु भएको छ ।
विमानस्थलका अनुसार अब निगमले काठमाडौं-मलेसिया-भैरहवा-काठमाडौं रुट अन्तर्गत साताको एक दिन उडान गर्नेछ । निगमले दिल्ली-भैरहवाका लागि पनि उडानको तयारी गरेको छ। तर सम्बन्धित निकायबाट उडान अनुमति पाएको छैन। २०७९ जेठ २ गतेबाट व्यावसायिक रूपमा सञ्चालनमा आएको भैरहवा विमानस्थलमा कुवेतको जजिरा एअरवेजले नियमित उडान गर्दै आइरहेको थियो।
करिब डेढ महिनादेखि जजिराले कुवेत-भैरहवा उडान रोकेको छ।