
कञ्चनपुर— महेन्द्रनगरस्थित शिव शिखर बहुउद्देश्यीय सहकारी संस्थाले बचतकर्ताको २० करोड ७८ लाख बढी रकम ठगी गरेको खुलेको छ ।
जिल्ला प्रहरी कार्यालयमा बचत रकम फिर्ता नगरेको भन्दै २ हजार ४९६ जना बचतकर्ताले २० करोड ७८ लाख २४ हजार रुपैयाँ फिर्ता माग गर्दै निवेदन दिएका हुन् ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक हर्षबहादुर चन्दले भने, 'शिव शिखर सहकारी संस्थाबाट ठगिएका दुई हजार ४९६ जनाले निवेदन दिएको बताउनुभयो । अहिले हामी निवेदनकर्ताको संयुक्त जाहेरी बनाएर मुद्दा दर्ता गर्ने तयारीमा छौँ । अनुसन्धान गर्न सजिलो होस् भनेर संयुक्त जाहेरी तयार गर्न लागेका हौँ ।'
गत महिना प्रहरीले उक्त सहकारीबाट बचत रकम फिर्ता नपाएकाहरूलाई बचत पासबुक र नागरिकतासहित प्रहरीमा निवेदन दिन आग्रह गरेको थियो । अहिले महेन्द्रनगरस्थित शिव शिखर सहकारी संस्था बन्द छ ।
बचतकर्ताहरूले आफूहरूले जम्मा गरेको रकम फिर्ता पाउनुपर्ने भन्दै निवेदन दिएको बताएका छन् । 'हामीले मेहनतले कमाएको रकम हामीलाई फिर्ता गराइदिन भनेर प्रहरीमा निवेदन दिएका हौँ,' बचतकर्ता सुमन कुँवरले भने, “सहकारीका कर्मचारीले घरमै आएर आग्रह गर्दा बचत जम्मा गरेका हौँ ।' उनको सहकारीमा ३७ हजार रुपैयाँ बचत छ ।
त्यसैगरी, वासुदेव भट्टले पनि ४१ हजार रुपैयाँ शिव शिखर सहकारीमा जम्मा रहेको बताए। 'सहकारीको कार्यालयमा गएर बचत फिर्ता माग्दा दिएन, तीर/चार दिन कार्यालयमा धाएँ,' उनले भने, 'मेरो किराना पसल छ, मैले दैनिक बचत गर्दै आएको थिएँ ।' बचतकर्ताहरूले बचत रकम फिर्ता र सहकारी सञ्चालकहरूलाई कारबाहीको माग गरेका छन् ।
भक्तपुर केन्द्रीय कार्यालय रहेको शिव शिखर बहुउद्देश्यीय सहकारी संस्थाले कञ्चनपुरलगायत अन्य जिल्ला शाखाबाटसमेत ठगी गरेको उजुरी प्रहरीमा छ ।