News Griha :: न्यूजगृह
तनहुँमा लम्पी स्किनविरुद्ध पशुलाई खोप लगाउन सुरु

तनहुँ— तनहुँमा लम्पी स्किनविरुद्ध पशुलाई खोप लगाउन सुरु गरिएको छ । म्याग्दे गाउँपालिकाले पशुलाई रोगबाट बचाउनका लागि पहिलोपटक खोप लगाउन थालेको हो ।

पछिल्लो समय जिल्लाभर सो रोग फैलिएपछि गाउँपालिकाले सातवटै वडामा पालिएका पशुलाई खोप लगाउने कार्य सुरु गरेको गाउँपालिकाका पशु सेवा शाखा प्रमुख डा.विनय शाहले बताए ।

उनका अनुसार पहिलो चरणमा दूध उत्पादन धेरै हुने वडाका पशुलाई प्राथमिकतामा राखेर खोप लगाउन थालिएको छ । उनले भने,‘व्यावसायिक रुपमा गाईभैँसी पालन गरिएका र दूध उत्पादन बढी गर्ने कृषकको गोठमै पुगेर खोप लगाउन सुरु गरेका छौँ । क्रमशः सबै वडामा पशुलाई खोप लगाइनेछ ।’

प्रमुख डा.शाहका अनुसार गाउँपालिकाका सात वटै वडाका दुई हजार गाईभैँसी, गोरु, राँगालाई खोप लगाउने कार्यक्रम रहेको छ । गाउँपालिकाबाटै खोप खरिद गरी पशुलाई लगाउन थालिएको बताउँदै उनले भने,‘पहिलो चरणमा दुई हजार खोपको मात्रा आएको छ । आवश्यक परे थप खोप खरिद गरेर लगाइनेछ ।’

उनका अनुसार पशुमा पूर्ण खोप कार्यक्रमअन्तर्गत गाउँपालिकाका वडामा खोपकर्ताको रुपमा खटिएका भेटेरिनरी प्राविधिकलाई पुनः यस आकस्मिक अवस्थामा खोप लगाउन परिचालित गरिएको छ ।

प्रकाशित मिति: सोमबार, जेठ २९, २०८०  ०८:०८
Weather Update