
काठमाडौं— विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको बैठकले मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना–२०८० स्वीकृत गरेको छ । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको अध्यक्षतामा प्राधिकरणको सभाहलमा बसेको समितिको १८ औं बैठकले कार्ययोजना स्वीकृत गरेको हो ।
स्वीकृत कार्ययोजनामा मनसुनजन्य जोखिमको अवस्था विश्लेषण तथा प्रभाव आँकलनका साथै विभिन्न मन्त्रालय तथा विषयगत क्षेत्र, निजी क्षेत्र र मानवीय क्षेत्रमा काम गर्ने नेपाल रेडक्रसलगायत गैरसरकारी संस्थाहरूको जिम्मेवारीका साथै खोज, उद्वार तथा राहत सामग्रीहरुको मौज्दातीको विवरण समेटिएको छ ।
उपप्रधान एवम् गृहमन्त्री श्रेष्ठले उपलब्ध साधन स्रोतको अधिकतम परिचालन गरी विपद् जोखिम न्यूनीकरण गर्नतिर ध्यान दिन र विगत वर्षहरुका कमजोरी तथा असावधानी पुनरावृत्ति हुन नदिई कार्ययोजनाको ठोस कार्यन्वयन गर्न सम्बद्ध सबै निकायलाई निर्देशन दिए ।
स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले व्यवस्थित कार्ययोजना बनाउँदा नागरिकको तहबाट पनि सहयोग प्राप्त हुने अनुभव सुनाउँदै कार्ययोजना कार्यन्यवनमा सक्रियाताका साथ सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।
प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले यस वर्षको मनसुनबाट १२ लाख ५० हजारभन्दा बढी नागरिक प्रभावित हुने अनुमान प्रस्तुत गर्दै प्राधिकरणबाट मनसुनजन्य विपद्का लागि गरिएका थप तयारीबारे जानकारी गराएका थिए ।
पोखरेलले पूर्वसूचना तथा पूर्व कार्यका लागि देशका ३४ स्थानमा स्मार्ट साइरन जडान, विपद् सामूहिक उद्वार सवारी तथा ‘ए क्लास’ एम्बुलेन्सहरु खरिद गरी सातवटै प्रदेश र काठमाडौं उपत्यकामा एक–एक वटा एम्बुलेन्स रहने व्यवस्था मिलाइएको जानकारी दिए ।
यस्तै भण्डारण गरिएका आपतकालीन उपकरण र सामग्रीको जानकारी उपलब्ध हुने ‘गोदाम’ स्रोत व्यवस्थापन प्रणाली र खोज तथा उद्वारमा संलग्न हुने स्वयंसेवकहरुको विवरण उपलब्ध हुने स्वयंसेवक व्यवस्थापन प्रणालीकाबारे पनि उल्लेख गरे । स्वयंसेवक प्रणालीमा हालसम्म एक लाख ४२२ जना स्वयंसेवक सूचीकृत भइसकेका छन् ।
राष्ट्रिय कार्ययोजनामा संघीय मन्त्रालय तथा निकायहरू र केन्द्रीय विषयगत क्षेत्रको मनसुन पूर्वतयारी तथा प्रतिकार्य कार्ययोजना, जिम्मेवार मन्त्रालय तथा विभागहरू र सुरक्षा निकायहरूको जिम्मेवारीका साथै आपतकालीन अवस्थामा विषयगत क्षेत्रको सम्पर्क विवरणहरू पनि उल्लेख गरिएको छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार यस वर्षको मनसुनमा देशैभरि कम पानी पर्ने प्रक्षेपण गरिएको छ । सरदरभन्दा कम पानी पर्ने भएकोले विगत भन्दा न्यून तापक्रम हुने अनुमान पनि गरिएको छ ।