News Griha :: न्यूजगृह
 जहाँ अझै शौचालय छैनन्

बाग्लुङ— बाग्लुङ जिल्ला खुला दिसामुक्त घोषणा भएकोे दश वर्ष पूरा भइसक्दासमेत यसले पूर्णता पाउन सकेको छैन । खुला दिसामुक्त घोषणा भइसकेको जिल्लामा शौचालयविहीन परिवार रहेको तथ्यांक सार्वजनिक भएको छ ।

सबै घरमा शौचालय निर्माण गरेर ‘खुल्ला दिसामुक्त बाग्लुङ’ वि.सं. २०७० मा घोषणा भए पनि अझै आठ सय ६५ घरपरिवार शौचालयविहीन रहेको राष्ट्रिय जनगणना २०७८ को तथ्यांकले जनाएको छ । 

जिल्लामा रहेका ६४ हजार एक सय ५३ घरपरिवारमध्ये आठ सय ६५ घरमा अझै शौचालय नभएको पाइएको तथ्यांक कार्यालय बाग्लुङका कार्यालय प्रमुख चन्द्रकान्त सुवेदीले जानकारी दिए ।

उनले जिल्लाकोे तथ्यांक सार्वजनिक अझै पनि आठ सय ६५ घरपरिवारमा शौचालय नभएको, कुवा तथा खुला इनारको पानी प्रयोग गर्ने पाँच सय ३१ परिवार र नदी तथा खोलाको पानी प्रयोग गर्ने तीन सय १६ परिवार रहेको जानकारी दिए ।

उनका अनुसार जिल्लामा एक सय ६७ सार्वजनिक शौचालय छन् भने सार्वजनिक ढलमा मिसिने शौचालय एक हजार आठ सय ६५, सेफ्टी ट्यांकी भएको ४७ हजार दुई सय ६४ परिवार र साधारण खाल्टे शौचालय भएका १३ हजार नौ सय ४२ घरपरिवार छन् ।

बाढीपहिरोको जोखिम भएका स्थानमा कतिपयले खाल्टे शौचालय प्रयोग गर्ने खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय बाग्लुङका प्रमुख तुल्सी बस्नेतले बताए । छिट्टै भत्किने, पहिरोले लैजाने, बाढीले पुर्नेलगायत समस्याका कारण कतिपय घरमा शौचालय नभएका उनको भनाइ थियो ।

‘दश वर्षअघि खुला दिसामुक्त जिल्ला घोषणा भएको थियो । उक्त समयमा सबैको घरमा अस्थायी सम्मको शौचालय थिए । दश वर्षको अवधिमा बढी मात्रामा परिवार छुट्टिदा, बाढीपहिरोका कारण शौचालय नभएका घरको संख्या बढे्को हो’, प्रमुख बस्नेतले भने ।

अहिलेको सरसफाइको जिम्मेवारी स्थानीय तहलाई दिइएको भन्दै उनले जिल्लामा खानेपानी आयोजना सञ्चालन नभएका, अझै खोला र खुल्ला कुवाको पानी खाइरहेका परिवार धेरै रहेका बताए ।

घरमा शौचालय नभए पनि सार्वजनिक तथा सयुक्त रुपमा रहेका शौचालय प्रयोग गर्ने परिवार रहेको खानेपानी तथा सरसफाइ डीभिजन कार्यालय बाग्लुङले जनाएको छ ।

तथ्यांक कार्यालयका प्रमुख सुवेदीका अनुसार जिल्लामा रहेको ६४ हजार एक सय ५३ घरपरिवारमध्ये तीन प्रतिशत परिवारमा शौचालय नभएको तथ्यांक राष्ट्रिय जनगणना २०७८ को नतिजाले देखाएको हो ।

जिल्लाका तत्कालीन सबै गाविसमा घर–घरमा चर्पी निर्माण सम्पन्न भइसकेको भन्दै नेपालको ८औँ खुला दिसामुक्त जिल्लाको रूपमा २०७० साल १६ माघमा घोषणा गरिएको थियो ।

खुला दिसामुक्त जिल्ला घोषणा भएको १० वर्षपछि आठ सय ६५ घरमा शौचालय नभएको पाइनु दुःखद् रहेको सहायक प्रमुख जिल्ला अधिकारी चित्रांगत बरालले बताए ।

सार्वजनिक तथ्यांकका आधारमा जिल्लामा सरसफाइको अवस्था नाजुक रहेको देखाएको उनको भनाइ छ । शौचालयको अभावले खुल्ला स्थानमा दिसा, पिसाब गर्दा आउ, हैंजा, झाडापखलालगायत रोगको सङ्क्रमण फैलिने भएकाले सबैले शौचालय बनाउनुपर्नेमा बरालले जोड दिए ।

राष्ट्रिय जनगणना २०७८ अनुसार बाग्लुङको जनसङ्ख्या एक लाख १६ हजार एक सय ९४ पुरुष, एक लाख ३३ हजार १७ महिला गरी दुई लाख ४९ हजार दुई सय ११ रहेको छ ।

२०६८ सालको जनगणना अनुसार दुई लाख ६८ हजार छ सय १३ जनसङ्ख्या थियो ।  अहिले यहाँको जनसङ्ख्या शून्य दशमलव ७२ प्रतिशतले वृद्धि भएको छ । 

प्रकाशित मिति: आइतबार, जेठ २८, २०८०  २१:४०
Weather Update