News Griha :: न्यूजगृह
एमडीएमएस दर्ता प्रणालीले अपराध नियन्त्रण र अनुसन्धानमा सहयोग पुग्छ : एसएसपी कार्की 

काठमाडौं— वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) दानबहादुर कार्कीले मोवाइल डीभाइस म्यानेजम्यान्ट सिस्टम (एमडीएमएस) प्रणाली लागु हुँदा प्रविधिको दुरुपयोगबाट हुँदै आएका विविध अपराध नियन्त्रण गर्न सहयोग पुग्ने बताएका छन् ।

आइतबार काठमाडौंमा सरोकारवाला निकायले गरेको एमडीएमएस प्रणाली कार्यान्वयन सम्बन्धि अन्तर्क्रिया कार्यक्रममा कार्कीले समय सापेक्ष नयाँ प्रविधिको प्रयोग कम हुँदा त्यसले अपराध अनुसन्धान र नियन्त्रण गर्न असहज तथा समय लाग्ने गरेको दृष्टान्त दिँदै अब एमडीएमएस प्रणालीले अनुसन्धानमा कार्यमा सहयोग पुर्‍याउने बताए ।

‘यो प्रणाली लागु भइसकेपछि खास गरी हामीले अपराध नियन्त्रणमा सहयोग होस् अपराध नियन्त्रण नै होस्, अनुसन्धान गर्नुपर्ने स्थितिमा नै पुग्न नपरोस् भन्ने चाहेको छौं,’कार्कीले भने,‘अनुसन्धान गर्नुपर्दाको अवस्थामा पनि छरितो किसिमले अनुसन्धान गरेर समयमै न्याय दिने कार्यमा लाग्न सबै ऐक्यबद्ध भएर लाग्ने अपेक्षा गरेको छु ।’

उनले एमडीएमएस प्रणालीमा दर्ता नगराएका डीभाइसलाई प्रहरी अनुसन्धानका क्रममा ट्रयाकिङ गर्न निकै गाह्रो भएको भन्दै यो प्रणालीमा दर्ता गराउन सबैलाई आग्रह समेत गरे ।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: आइतबार, जेठ २८, २०८०  २०:०६
Weather Update