
सर्लाही— दाइजोलाई लिएर सर्लाहीको हरिपुर नगरपालिका वडा नं ३ मा दुई महिलाको हत्या भएको छ ।
हरिपुर नगरपालिका वडा नं ३ स्थित फरहदवा र वडा नं ६ स्थित लक्ष्मीपुरमा दुई महिलाको हत्या भएको हो । वडा नं ३ स्थित फरहदवाका अब्दुल साह फकिरले २३ वर्षीया श्रीमती ईदा खातुनको हत्या गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए ।
सुवेदीका अनुसार अब्दुलले श्रीमतीलाई माइतबाट एक लाख नल्याएको भन्दै पटकपटक मानसिक तथा शारीरिक यातना दिने गरेका थिए । यातनापछि ईदा माइत गएको तर छलफलपछि केही समय अगाडि उनी घर फर्केको स्थानीय इन्दी मन्सुरले बताए । ईदा बुबा मन्सुर साह फकिरले अब्दुल र उनका परिवारले ईदालाई पटकपटक शारीरिक र मानसिक यातना दिने गरेको आरोप लगाए ।
‘इदाका पाँच वर्षे छोरा कमलेनले भनेपछि मात्रै हत्या भएको थाहा भयो, शव हेर्न जाँदा ईदाको शरीरभरि माटो लागेको र मुखमा कपडा कोचिएको थियो,’ बुबा साहले भने । कुटपिटबाट मृत्यु भएकी ईदालाई झुन्ड्याइएको थियो । घटनामा संलग्न भएको आरोपमा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ ।
त्यस्तै, हरिपुर नगरपालिका वडा नं ६ स्थित लक्ष्मीपुरमा जल्दै गरेको अवस्थामा एकजनाको शव प्रहरीले नियन्त्रणमा लिएको छ । उक्त शव स्थानीय ४५ वर्षियइन्द्रकलादेवी साहको हो । साहलाई श्रीमान राजाराम साहले कुटपिट गरी घाइते बनाएपछि मृत्यु भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
दाइजोको विषयमा विवाद हुँदा श्रीमानको कुटपिटबाट घाइते भएकी इन्द्रकलालाई उपचार नगरी घरमै राखिएको र केही समयपछि मृत्यु भएको थियो । इन्द्रकलादेवीको शवलाई लखन्देही नदीमा दाहसंस्कार गर्न लागिएको खबर पाएपछि शवलाई जल्दै गरेको अवस्थामा नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक दीपेन्द्र पञ्जियारले बताए ।
‘लालबन्दी र हरिवनको सिमानामा रहेको लखन्देही नदीमा जल्दै गरेको चिताबाट शवलाई नियन्त्रणमा लिई आधा जलेको शरीर बरामद गरी पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल सर्लाही पठाइएको छ,’ डीएसपी पञ्जियारले भने । राजाराम फरार छन् । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।