
महोत्तरी— उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकार सुशासनको प्रत्याभूति दिलाउन प्रतिबद्ध रहेको बताएका छन् ।
शनिबारदेखि महोत्तरीका विभिन्न कार्यक्रममा सहभागि रहेका उनले आइतबार बिहान बर्दिबास–४ माईस्थानमा स्थानीयवासीसँगको भेटघाटमा भ्रष्टाचारविरुद्धको कारबाही तीव्र बनाइने प्रतिबद्धता जनाए ।
‘जो होस्, गलत गर्ने कारबाहीको भागी बन्छ,अब राजनीतिक हैसियत र ठट्याइँ देखाएर उन्मुक्ति पाइँदैन,’ श्रेष्ठले भने । यसअघि राजनीतिक दलका नेताहरूले जिम्मेवारी र दायित्व नबुझ्दा जनताले सुशासनको प्रत्याभूति पाउन नसकेका उनको भनाइ छ ।
‘गरिबीको दुश्चक्रमा पिसिएका आम जनता अझै निर्धक्क आफ्ना कुरा सम्बद्ध अधिकारीसम्म पुर्याउन सकेका छैनन्, ती वर्गका जनताले लोकतन्त्रको महसुस गर्न सक्नुपर्छ’,उनले भने,‘प्रहरी, प्रशासनिक अधिकारी र सम्बद्ध पक्षले कुनै लाउके वा बिचौलियाको होइन, सिधै पीडितको कुरा सुन्ने र निदान दिने परिपाटी बढाउन पर्छ ।’