News Griha :: न्यूजगृह
बुहारीको हत्या आरोपमा सासू–ससुरासहित तीन पक्राउ

धनगढी— कैलालीमा बुहारीको हत्या आरोपमा सासू–ससुरासहित तीन जना पक्राउ परेका छन् । कैलालीको गौरीगंगा नगरपालिका–२ की कविता बुढाको शव सामुदायिक वनमा खाल्डो खनेर पुरेको अवस्थामा फेला परेको थियो ।

उक्त घटनाको अनुसन्धानको क्रममा प्रहरीले कविताका ससुरा ५२ वर्षीय डिल्लीसिंह बुढा, उनकी श्रीमती ५० वर्षीया लहरी बुढा र ज्वाइँ नाता पर्ने भजनी नगरपालिका–४ का ४१ वर्षीय जयवीर बुढालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक खगेन्द्र साउदले डिल्लीसिंह र उनकी श्रीमतीले घरायसी विवादमा बुहारी कविताको हत्या गरेर शव जंगलमा गाडेको र ज्वाइँ नाता पर्ने जयवीरले उनीहरूलाई सहयोग गरेको अभियोगमा पक्राउ गरिएको जानकारी दिए ।

प्रारम्भिक अनुसन्धानका क्रममा १८ जेठमा पारिवारीक विवादका क्रममा ससुरा डिल्लीसिंहले भान्सा कोठामा रोटी पकाइरहेकी कवितालाई चिरपटले हानेर हत्या गरेको देखिएको प्रहरी निरीक्षक साउदको भनाइ छ ।

बुहारीको हत्या गरेपछि डिल्लीले श्रीमतीको सहयोगमा शव डोकोमा हालेर घरभन्दा करीब ३ किलोमिटर टाढा पर्ने गौरीगंगा नगरपालिका–१ को केदारेश्वर सामुदायिक वनमा पुर्‍याएर ८ फिट गहिरो खाल्डो खनेर गाडेको आरोप छ ।

शव गाडिसकेपछि उनीहरूले बुहारी हराएको भन्दै प्रहरीमा निवेदन दिएका थिए । त्यसपछि उनीहरू फरार भएको प्रहरीको भनाइ छ । २२ जेठसम्म कञ्चनपुरको बिचफाँटास्थित आफन्तको घरमा बसेका उनीहरुलाई शनिबार भने घर ठेगानाबाटै पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: आइतबार, जेठ २८, २०८०  ०९:००
Weather Update