
काठमाडौं— राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना ‘पाँचौँ चीन–तिब्बत पर्यटन तथा सांस्कृतिक प्रदर्शनी’ मा सहभागि हुन चीन प्रस्थान गरेका छन् ।
आगामी १ र २ असारमा हुने उक्त प्रदर्शनीमा सहभागि हुन नौ सदस्यीय प्रतिनिधिमण्डलसहित अध्यक्ष तिमिल्सिना शनिबार राति चीन प्रस्थान गरेका हुन् ।
उनको नेतृत्वमा प्रतिनिधि सभाका सदस्य जीवन परियार, धवलशमशेर जबरा, प्रदीप यादव, उदयबहादुर बोहोरा, दीपा गुरुङ र हरिराम चौधरी सहभागी छन् ।
उनका प्रमुख स्वकीय सचिव गोविन्द अकेला पौडेल र संघीय संसद् सचिवालयका उपसचिव रामहरि थापा पनि टोलीमा सहभागि छन् ।
कार्यक्रममा सहभागी हुनुअघि उनीहरूले बेइजिङ र सांघाई भ्रमण गर्नुको साथै बेइजिङमा जनवादी गणतन्त्र चीनको राष्ट्रिय जनकांग्रेसको स्थायी समितिका अध्यक्ष चाओ लिजी र चिनियाँ जनराजनीतिक परामर्शदातृ सम्मेलनका अध्यक्ष वाङ हुनिङसँग भेट र द्विपक्षीय वार्ता गर्ने कार्यक्रम रहेको छ ।
उनीहरू ६ असारमा स्वदेश फर्किने छन् ।