
काठमाडौं— कालीकोटमा एक दिनको फरकमा दुई वटा जीप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । बिहीबार (२५ जेठ) बिहान ७ बजे जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु र एक जना घाइते भएका थिए भने त्यसको एक दिन पछाडि अर्थात् शनिबार (२७ जेठ) साँझ जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।
एक दिनको फरकमा जीप दुर्घटनामा परी पाँच जनाले ज्यान गुमाएका छन् । बिहीबार कालीकोटको रास्कोट नगरपालिका–२ सेरामा जीप दुर्घटना हुँदा एक दम्पतीको मृत्यु र एक जना घाइते भएका थिए ।
रास्कोटको बसपार्कबाट जितेका लागि छुट्न लागेको ब १ च ४६४१ नम्बरको बलेरो जीप दुर्घटना हुँदा रास्कोट नगरपालिका–१ का ४३ वर्षीया मनबहादुर शाही र उनको श्रीमती मनकुमारी शाहीको मृत्यु भएको थियो ।
दुर्घटनामा सोही ठाउँकी ३० वर्षीया रिता शाही घाइते भएकी थिइन् । शाहीको थप उपचारका लागि नेपाली सेनाको हेलिकप्टबाट उद्धार गरी सुर्खेत लगिएको थियो । उनको उपचार जारी छ ।
त्यसैगरी शनिबार राति कालीकोटको शुभकालिका गाउँपालिका–६ गविरामा लु१च ८४९८ नम्बरका जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । जीप कालीकोटको बेउली पान्तडी सडकखण्डको चौकी बजारबाट हाउडी हुँदै शुभकालिकातर्फ जाँदै गर्दा शुभकालिका–६ गविराममा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय कालीकोटले जनाएको छ ।
दुर्घटनामा परेर जीप चालक शुभकालिका–२ का ३० वर्षीय हर्क विश्वकर्मा, शुभकालिका–८ का ३१ वर्षीय रामबहादुर शाही र दैलेख नौमुले–३ का २५ वर्षीय गोपाल सलामीमगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रहरी प्रमुख जयश्वर रिमालले जानकारी दिए । दुर्घटनाको कारण खुल्न नसकेको र घटनाबारे अनुसन्धान भइरहेको उनकाे भनाइ छ ।
‘घटना मध्यराति भएकाले दुर्घटनाको कारण खुल्न सकेको छैन’,प्रहरी प्रमुख रिमालले भने,‘जीपमा सवार तिनै जनाको मृत्यु भएको, देख्ने र घाइते अन्य नभएकाले पनि दुर्घटनाका कारण खुल्न सकेन ।’