News Griha :: न्यूजगृह
बसमा डस्टविन राख्न व्यास नगरको पत्राचार, अटेरी गरे सात हजारसम्म जरिबाना

तनहुँ— तनहुँको व्यास नगरपालिकाले यात्रुवाहक बसमा अनिवार्य डस्टविनको व्यवस्था मिलाउन यातायात समितिलाई पत्राचार गरेको छ ।

व्यास नगरलाई सफा र स्वच्छ बनाउने उद्देश्यसहित जथाभावी फोहोर फाल्ने कार्यलाई न्यूनीकरण गर्न यात्रुवाहक बसमा डस्टविनको व्यवस्था मिलाउन पत्राचार गरेको हो ।

जथाभावी फोहाेर फालिदिँदा नगरपालिका दुर्गन्धित हुने भएकाले सवारीसाधनमा अनिवार्य डस्टविनको व्यवस्थापनका लागि निर्देशनसहित पत्राचार गरिएको प्रमुख प्रशासकीय अधिकृत गंगालाल सुवेदीले जानकारी दिए ।

उनले भने,‘नगरपालिकालाई वातावरणमैत्री शहर बनाउन नगर क्षेत्रभित्र गुड्ने सवारीसाधनमा अनिवार्य डस्टविन राख्न भनेका छौँ ।’

सवारीसाधनमा यात्रा गर्ने यात्रुलाई पनि जथाभावीरूपमा फोहोर नफाल्न यातायात समितिमार्फत जानकारी गराउन निर्देशन दिइएको उनले बताए ।

जथाभावीरूपमा अटेर गरी फोहाेर फालेमा पहिलोपटक तीन हजार र दोस्रोपटक सात हजारसम्म जरिबाना गरिने उनले जानकारी दिए ।

नगरपालिकाले पृथ्वीराजमार्ग यातायात समिति, स्थानीय यातायात प्रा.लि., व्यासभूमि यातायात प्रा.लि., ट्याक्सी व्यवसायी समिति र अटो रिक्सा व्यवसायी समितिलाई पत्राचार गरेको हो ।

प्रकाशित मिति: आइतबार, जेठ २८, २०८०  ०६:३३
Weather Update