News Griha :: न्यूजगृह
गोसाइँकुण्डमा भक्तजनहरूको चहलपहल बढ्दो, कसरी पुग्न सकिन्छ गोसाइँकुण्ड ?
तस्बिरः  ज्ञानेन्द्र न्यौपाने/रासस 

रसुवा समुद्र सतहबाट १४ हजार एक सय फिटको उचाइँमा अवस्थित छ पवित्र तीर्थस्थल गोसाइँकुण्ड ।

विगतमा गङ्गा दशहरा एवम् जनै पूर्णिमा पर्वमा मात्रै  भक्तजनको घुइँचो हुने गोसाइँकुण्डमा पछिल्लो समय दिनहुँ भक्तजनहरूको चहलपहल बढ्दो छ ।

पौराणिक कथनअनुसार परापूर्व कालमा देवता र दानवबीच लडाइँ हुँदा समुन्द्र मन्थनबाट उत्पन्न कालकूट विष सेवन गरी विषको डाह शान्त पार्न हिमालय खण्डको काखमा आएर गोसाइँ बाबा भगवान शिव शङ्करले आफ्नो हातमा भएको त्रिशूलले भित्तामा हिर्काउँदा भित्ताबाट गंगाजल अर्थात त्रिशूल धाराको उत्पत्ति भई त्रिशूल धाराको पानीबाट गोसाइँकुण्डको उत्पत्ति भएको भन्ने किम्वदन्ती रहेको पाइन्छ।

कुण्डमा स्नान गरी गोसाइँ बाबा भगवान शिवको दर्शन गर्नाले जीवनभर गरेको पापबाट मुक्ति पाउने, पितृ तर्नुको साथै आफूले चिताएको सबै मनोकाङ्क्षा पुरा हुने जनविश्वासका साथ वर्षेनि हजारौँ भक्तजनहरू कुण्डमा स्नान गर्न आउने गर्दछन्।

गोसाइँकुण्डमा १ सय ८ कुण्ड छन् । ती कुण्डमा स्नान गर्नका लागि वर्षेनी हजारौँको सङ्ख्यामा भक्तजनहरू गोसाइँकुण्ड पुग्ने गर्छन् ।

कसरी पुग्न सकिन्छ गोसाइँकुण्ड ?

गोसाइँकुण्ड जाने तीर्थयात्री मध्ये करिब ९० प्रतिशत यही पदमार्ग भएर जाने गर्दछन्। गोसाइँकुण्ड जानका लागि धुन्चे–गोसाइँकुण्ड, ठाडेपाटी–गोसाइँकुण्ड, यार्सा–गोसाइँकुण्ड र सागरकुण्ड–गोसाइँकुण्ड गरी ४ वटा पदमार्ग सञ्चालनमा छन्। त्यहाँ पुग्नका लागि ३ वटा मुख्य बाटो छन्।

काठमाडौंको गोङ्गबु बसपार्कबाट नुवाकोटको त्रिशूली हुँदै रसुवाको सदरमुकाम धुन्चे आइपुग्न सकिन्छ भने २ दिनको पैदलयात्रापछि चन्दनबारी हुदै गोसाइँकुण्ड पुग्न सकिन्छ। 

काठमाडौं–धुन्चे–गोसाइँकुण्ड बाटो यात्रुले सबैभन्दा बढी प्रयोगमा ल्याउने बाटो हो। काठमाडौंबाट धुन्चेसम्म सवारीमा यात्रा गर्न सकिन्छ। त्यसपछि धुन्चे–चन्दनबारी, चन्दनबारी–लौरीबिना र लौरीबिना हुँदै पैदलयात्रा गरेर गोसाइँकुण्ड पुगिन्छ। त्यसपछि काठमाडौं–सुन्दरीजलहेलम्बु–ठाडेपाटी बाटो आउँछ। धेरै कम यात्रुहरूले यार्सा–गोसाइँकुण्डको बाटो प्रयोग गर्ने गरेका छन्। तर पर्यटकले सागरकुण्ड–गोसाइँकुण्ड बाटो प्रयोग गरेको पाइँदैन।  

प्रकाशित मिति: शनिबार, जेठ २७, २०८०  ०८:३०
Weather Update