
काठमाडौं— जिल्ला अदालत काठमाडौंमा ऊर्जा व्यवसायी गुरुप्रसाद न्यौपानेविरुद्ध रु तीन करोड २३ लाख बिगो र कैद सजाय माग गर्दै मुद्दा दायर गरिएको छ ।
धितोपत्रको भित्री कारोबार (इन्साइडर ट्रेडिङ) को अभियोगमा न्यौपानेविरुद्ध जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले उक्त मुद्दा दायर गरेको हो ।
नेपाल धितोपत्र बोर्डको जाहेरीपछि प्रहरीले अनुसन्धान गरेको थियो । रिडी पावर कम्पनी लिमिटेडमा अध्यक्ष रहँदा न्यौपानेले सोही कम्पनीको शेयर कारोबार गरेको र त्यसबाट रु तीन करोड २३ लाख अनधिकृत लाभ लिएको देखिएको अभियोगपत्रमा छ ।
न्यौपाने र नेपाल हाइड्रो डेभलपर्स कम्पनीका अध्यक्ष ज्ञानेन्द्रलाल प्रधानले अवैधरूपमा शेयर कारोबार गरेको ठहर गर्दै नेपाल धितोपत्र बोर्डले २०७९ मंसिर २४ गते कारबाही गर्ने निर्णय गरेको थियो ।
सोहीअनुसार अनुसन्धानपछि न्यौपानेविरुद्ध मुद्दा दायर गरिएको हो ।