News Griha :: न्यूजगृह
सुदखोरविरुद्ध पैदलयात्रा

काठमाडौं— भनिन्छ, समस्यामा परेकोलाई सहयोग गर्नु पुण्यको काम हुन्छ । तर यो भनाइ ३२ वर्षीया पुनितादेवी महतोको हकमा भने ठ्याक्कै उल्टो भइदियो । छिमेकीलाई सहयोग गर्दा उनी सुदखोर (मिटरब्याजी) को फन्दामा परेर फरार जीवन जिउँन बाध्य छिन् ।

सिरहा गोलबजार असनपुर नगरपालिका–५ घर भएकी पुनितादेवीले साथीको छोरीको बिहेको लागि सुदखोर श्रद्धादेवी साहबाट ५० हजार रुपैयाँ ऋण लिइन् । ‘मनकुटिया मण्डलीले तीन दिनमा फर्काइदिन्छु भनेको थियो । त्यसैले मैले कागजात (तमसुक) मा सही गरिदिएँ । छोरीको बिहेपछि ऊ भागी,’ उनले भनिन् ।

पुनितादेवी महतो
पुनितादेवी महतो

तमसुकअनुसार एक सातामा ११ हजारको दरले ब्याज तिर्नुपर्थ्यो । उनले पहिलो साता ब्याज तिरिदिइन् । यसबीच मनकुटिया भारत भागिन् । त्यसपछि सुदखोर श्रद्धादेवीले ब्याज तिर्न निरन्तर दबाव दिइरहेपछि उनले जीवन विकास बैंकबाट ऋण लिएर एक लाख रुपैयाँ दिइन् । तर सुदखोरले छोडेन । ५० हजारको पाँच लाख मागेपछि उनले तिर्न सक्ने अवस्था नै थिएन । श्रद्धादेवीले पुनितादेवीविरुद्ध मुद्दा हालिन् र अदालतले पक्राउ पुर्जी जारी गर्‍यो र उनी फरार हुन बाध्य भइन् । कहिले आफन्तको घरमा त कहिले कसकोमा शरण लिइरहेकी छिन् पुनितादेवीले । ‘एकल महिला हुँ । आठ महिनादेखि घर छोडेर भागेकी छु । घर गएपछि प्रहरीले पक्रिहाल्छ,’ उनले फोनमा रुँदै भनिन्, ‘अरुको घरमा काम गरेर सन्तान पालिरहेको मैले, अब त्यत्रो पैसा कसरी तिर्नु ?’

खाडी मुलुक साउदी अरबमा गएका श्रीमान् हृदयघातले बितेपछि पुनितादेवीले एक्लै छोराहरूलाई दुखजिलो गरी हुर्काइरहेकी थिइन् । उनका १४, १२ र १० वर्षका छोराहरू छन् । भन्छिन्, ‘आफैं पकाएर राम्ररी खान पनि सक्दैनन् । जाउलो बनाएर खाइरहेका छन् ।’

धनुषाको गणेशमान चारनाथ नगरपालिका–७ की लक्ष्मी परियारको कथा पनि पुनितादेवीको भन्दा फरक छैन । उनी पनि सुदखोरबाट पीडित छिन् । २६ वर्षीया लक्ष्मीको जीवन ठिकठाक चल्दै थियो । श्रीमान् कतारमा, ऋणको नाममा बैंकमा १० लाख मात्रै । आफ्नै १० धुर जग्गा र घर । छोराछोरी विद्यालयल जाने भएपछि आत्मनिर्भर बन्ने सोचले उनी पाडाको व्यापारमा लागिन् । किस्ताबन्दीमा लघुवित्तबाट ऋण लिइन् । भन्छिन्, ‘ऋणको ब्याज महिनैपिछे तिर्नुपर्ने । तर पाडा छ महिना, एक वर्षपछि बेचिन्छ भनेर कसैले भनेन ।’ लघुवित्तको ऋण तिर्न गाउँको दाजु गणेश जैसवालसँग ऋण लिइन् । भन्छिन्, ‘बुहारी तिमीलाई चाहिने पैसा म दिइहाल्छु । चिन्ता नलेऊ भन्नुभयो ।’

लक्ष्मी परियार
लक्ष्मी परियार

सुदखोर गणेशले उनीसँग तीन लाखको बदलामा दुई वटा कागज गराए । ‘एउटा व्यक्तिसँग दुई लाखको कागज मात्र गर्नुपर्छ बुहारी । तिम्रो ममीलाई बोलाउ, ममीको नाममा एक लाख रुपैयाँ कागज गर्छु र एक लाख थपिदिन्छु,’उनले सुनाइन् ।

लक्ष्मीको आमाले कागज गर्न मानेकी थिइन् । भन्छिन्, ‘ममीले मैले पैसा लिएको छैन, कागज कसरी गर्नु भन्नुभयो ? ममी पैसा मैले लिएको छु, कागज गरिदिनुस् । एक लाख रुपैयाँ थपेर फेरि यो अंकलले पैसा दिनुहुन्छ भने । अनि एक लाखको कागज गरिदिनुहुन्छ यो अंकलले भनें ।’ उनले गणेशलाई लाखौँ रकम बुझाइन् तर ऋण सकिएन ।

सुदखोर गणेशले उनको जग्गा र घरमा मुद्दा हालिदिए । जग्गा बेचेर मिटरब्याजीको मुद्दा सल्ट्याइन् । साहुले उनको जग्गा बेचेर ऋण तिर्दा आमाको कागज फिर्ता दिने भनेका थिए तर दिएनन् । उल्टै आमाको जग्गामा विरुद्ध मुद्दा हालिदिए । भन्छिन्, ‘एक लाखको बदलामा मेरो ममीको २०, २५ लाखको जग्गा खान मिल्छ ? ममीले यहाँ चलेको भाउ अनुसार जग्गा किन्नुस् न भन्दा पनि मानेन् । सरकारले पीडितलाई मार्न चाहन्छ भने मर्न तयार छौँ ।’

मिटर ब्याजमा जग्गा बेचेपछि उनी अहिले नौ वर्ष र साढे तीन वर्षको दुई सन्तानसँग भाडामा बस्छिन् । श्रीमान् कतारबाट फर्केपछि १० लाखको ऋण २० लाखमा पुर्‍याएको भन्दै रिसाएर उनीसँग बोल्नै छोडे । तीन वर्ष कतार बसेर फर्केका उनलाई मिटरब्याजी गणेश र उनका मान्छेले दिनरात मानसिक तनाव दिएपछि सहन नसकी ६ महिनाअघि पुनः कतार फर्किए ।

महोत्तरीकी कल्पना धामीले लघुवित्तको ५० हजार तिर्न सुदखोर विनिता यादवसँग तीन लाख तिर्ने सर्तमा कागज गरिन् । उनले भैँसीको व्यापार गर्न चार वर्षमा किस्ता तिर्ने गरी दुई लाख लघुवित्तबाट ऋण लिएकी थिइन् । तर जति पैसा तिरेपनि सुदखोर विनिताले पैसा अझै बाँकी रहेको भन्दै उनीविरुद्ध प्रहरीमा उजुरी गरेकी छिन् ।

Sequence 33.02_55_37_14.Still0101679572926.jpg
कल्पना धामी

यस्तै धनुषाकी सम्झना लामाले पनि गणेश जैसवालसँग लघुवित्तको ऋण तिर्न सुरुमा ५० हजार र पछि १ लाख लिइन् । उनले तीन लाख तिरि सकिन् । भन्छिन्, ‘तर उसले फेरि चार लाखको कागज बनाएर राखेको रहेछ । मुद्दा हालिदिन्छु, बच्चा उठाइदिन्छु भनेर धम्की दिन्छ । कागज माग्न जाँदा नदिने, ब्याजमा गयो सबै तिरेको भन्छ ।’

अहिले पुनितादेवी, लक्ष्मी, सम्झना र कल्पना मिटरब्याजविरुद्ध बर्दीवासदेखि काठमाडौंसम्म पैदल विरोधमा छन् । उनीहरू जस्तै थप ७० जना विरोधमा सहभागी छन् । मधेस प्रदेशका सिरहा, सप्तरी, धनुषा र महोत्तरी जिल्लाका सुदखोर पीडित न्यायको पर्खाइमा छन् । न्याय माग्दै उनीहरू पैदल काठमाडौं आउँदैछन् । सुदखोर पीडित अधिकांश दलित र तल्लो तप्काका नागरिक छन् ।

336377519_1727491191003747_7609966953045668261_n1679572939.jpg
सम्झना लामा

सुदखोरलाई कारबाही गर्दैन सरकार

गत वर्षको वैशाखमा मिटरब्याज पीडितले सुदखोरविरुद्ध आवाज उठाउन सुरु गरेका थिए । उनीहरूले मिटरब्याज तथा ठगीविरुद्ध किसान मजदुर संघर्ष समिति गठन गरी आठ महिनाअगाडि मुख्यमन्त्री कार्यालयमा ज्ञापनपत्र बुझाए । कारबाही नभएपछि प्रदेशको मुख्यमन्त्रीलाई ज्ञापनपत्र बुझाए । त्यसको सुनुवाइ नभएपछि प्रदेशलाई दोस्रो पटक स्मरण पत्र बुझाएको आन्दोलन सहयोगी संघर्ष दाहाल बताउँछन् ।

आन्दोलनको परिणाम स्वरुप १ असोज २०७९ मा गृह मन्त्रायलयले गठन गरेको मिटरब्याज अपराध नियन्त्रण सिफारिस कार्यदल र मिटरब्याज तथा ठगीविरुद्ध किसान मजदुर संघर्ष समितिबीच पाँच बुँदे सहमति भयो । सहमतिमा मिटरब्याजी परिवारको सम्पत्ति छानबिनका सम्बन्धमा कार्यदलको सिफारिस बमोजिम गर्ने, मिटरब्याजीको निरन्तर मानसिक प्रताडना तथा हिंसाको कारण मृत्यु भएका ऋणीका परिवारलाई राहत तथा क्षतिपूर्ति पीडकबाट भराउन आवश्यक व्यवस्था मिलाउने उल्लेख थियो ।

यस्तै ऋणीले साँवा ब्याज चुक्ता गरेपछि फिर्ता गर्ने गरी साहुका नाममा जग्गा रजिष्ट्रेसन पास गरिदिएको तर साँवा ब्याज पूरै चुक्ता गर्दा पनि जग्गा फिर्ता नगरेको पुष्टि भए उक्त जग्गा जुनसुकै तहसम्म बिक्री गरेको भए पनि साहुले उक्त जग्गा फिर्ता गर्न समन्वय गर्ने सहमति भएको थियो । सहमति कार्यान्वयका लागि आवश्यक निर्णय लिन मन्त्रिपरिषद्मा प्रस्ताव लैजाने भनिएको थियो । तर सरकारले, सहमति कार्यान्वयन गरेको छैन र त पीडित पुनः आन्दोलित भएका हुन् ।

पाँच महिना बित्दा पनि सहमति कार्यान्वयन नभएपछि पुनः मिटरब्याजविरुद्धको संघर्ष समितिले २ चैत्रबाट आन्दोलन सुरु गरेको छ । बर्दीवासबाट काठमाडौं पैदल नै आएर उनीहरूले ‘मार्च’ गरिरहेका छन् । विरोधमा अधिकांश महिला सहभागी रहेको दाहालले जानकारी दिए । भन्छन्, ‘सुदखोरविरुद्ध कानुन नबन्दा उनीहरूले उन्मुक्ति पाएका छन् । मुख्य कुरा पीडितलाई न्याय दिने हो । यसको लागि कानुन बनाउने, आयोग बनाएर मिटरब्याजी पीडित हो, होइन छुट्याउने र सुदखोरविरुद्ध कारबाही हुनुपर्छ ।’

‘मिटरब्याजीजीहरूले ब्याजमा लगाउँदा कति अकुत सम्पत्ति जोडिरहेका छन् । ती सम्पत्तिको स्रोत के हो ? सरकारले उनीहरूलाई करको दायरमा ल्याउनुपर्छ,’उनले भने ।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: शुक्रबार, चैत १०, २०७९  ०६:००
समसामयिक
Weather Update