
खोटाङ— संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री सुदन किरातीले खोटाङको त्रिधार्मिकस्थल हलेसीको चौतर्फी विकास गर्न सरकार लागिपरेको बताएका छन् ।
हिन्दु, बौद्ध र किराँत धर्मावलम्बीको सङ्गमस्थल हलेसीको चौतर्फी विकास तथा प्रवर्द्धनका लागि सरकारले यस आर्थिक वर्षका लागि प्रस्तुत नीति तथा कार्यक्रममा नै समावेश गरेर अगाडि बढाएको उनले जानकारी दिए ।
मन्त्री किरातीले हलेसी खोटाङ जिल्लाको मात्र नभई पूर्वी नेपालकै सम्भावना बोकेको त्रिधार्मिकस्थल भएकाले यसका चौतर्फी विकासका लागि झापाको काँकडभिट्टादेखि योजना बनाएर अगाडि बढाउनुपर्ने बताए ।
‘हलेसीको विकासका लागि मुलुकको अन्य ठाउँमा समेत प्रचार–प्रसार गर्न आवश्यक छ । आगामी दिनमा नेपाल छिर्ने मुख्य नाका काँकडभिट्टा, चतरालगायतका ठाउँमा समेत प्रचार–प्रसारका लागि होडिङबोर्ड राख्नुुपर्ने अवस्था देखिएको छ’,उनले भने,‘हलेसीमा खुला सांस्कृतिक सङ्ग्राहलय निर्माण गर्न सरकारले तयारी गरेको छ । विभिन्न मुलुकबाट हलेसी आउने पाहुनालाई सिधा सम्पर्कमा भ्रमण गराउन सकिने गरी योजना निर्माण गर्नु आजको आवश्यकता हो । यसका लागि मन्त्रालयले गर्ने सहयोग गर्छ ।’