
काठमाडौं— प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् सीटीईभीटीका दुई जना कर्मचारीको शव पाँच दिनपछि गाडीभित्रै भेटिएको छ । अर्का एक जना भने अझै बेपत्ता छन् ।
सीटीईभीटीका दुई निर्देशक र अधिकृत चढेको बा १ झ ७४६७ नम्बरको जिप गत शुक्रबार दिउँसो मध्यपहाडी लोकमार्गको खुर्कोट–घुर्मी खण्डअन्तर्गत गोलन्जोर गाउँपालिका– ७ को लौकुनबाट सुनकोशी नदीमा खसेको थियो ।
प्रहरीका अनुसार मंगलबार दुई जनाको शव गाडीभित्रै फेला पारिएको हो । अर्का एक जना अझै बेपत्ता रहेका छन् । बेपत्ताको नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको गोताखोर टोलीले खोजी गरिरहेको छ ।
जिपमा सीटीईभीटी प्रशासन शाखाका निर्देशक ५७ वर्षीय कृष्ण केसी, योजना महाशाखा निर्देशक ५६ वर्षीय यमप्रसाद भुर्तेल र विद्युत् प्राविधिक भानु पौडेल सवार थिए । चालक कृष्ण चौधरी भने सकुशल छन् । टोली भक्तपुरबाट खोटाङ जाँदै थियो ।