
सुर्खेत— जिल्ला अस्पताल डोल्पामा दुई वटा एम्बुलेन्स छन् । तर अस्पतालसम्म जान र आउन पाउँदैनन् । अस्पतालको बीचमा भेरी नदी र सडक नहुँदा एम्बुलेन्स भेरी नदी पारी पट्टी थन्क्याउनु पर्ने बाध्यता छ ।
दुई मध्ये एक एम्बुलेन्स वर्ष दिनदेखि सञ्चालनमा छैन । अर्को एम्बुलेन्सले भेरी नदी पारी पट्टीसम्म मात्र सेवा दिने गर्दछ । झन्डै एक किलोमिटर टाढाको दूरीमा एम्बुलेन्सबाट बिरामी झारेर स्टेचरको माध्यमबाट बिरामीलाई अस्पतालसम्म लिने र ल्याउने गरिन्छ ।
स्टेचरमा राखेर बिरामी लिन र ल्याउन समेत साँघुरो बाटो भएकाले सधैँ मुस्किल हुने गरेको ठुलीभेरीका नवराज थापाले बताए । अस्पतालबाट बाहिर लिनका लागि सिफारिस गरिएका बिरामीलाई समेत एम्बुलेन्ससम्म पुर्याउन समस्या हुँदै आएको छ ।
कतिपय गर्भवतीलाई अस्पतालसम्म ल्याउँदा ल्याँउदै बाटोमै सुत्केरीसमेत हुने गरेको डाक्टर सुस्मिता जोसीले बताइन् । बिरामी लिन र ल्याउन भेरी नदी बाधक देखिएको छ । भेरी नदीमा पुल निर्माण नहुँदा १ किलोमिटर लामो बाटो प्रयोग गरेर स्टेचरको भरमा मुस्किलले अस्पतालसम्म बिरामी पुर्याउने गरिएको डाक्टर जोसीले बताइन् ।
अहिले झोलुङ्गे पुलको साहरामा बिरामी तथा यहाँका सर्वसाधारणहरू वाल्लो दुनैबाट पाल्लो दुनै जाने र आउने गरेका छन् । ‘साँघुरो बाटो एक किलोमिटर हिँडेर अस्पतालसम्म जान र आउन निकै समस्या हुने गरेको छ । हामी समस्या समाधानका लागि प्रयास जारी राखेका छौँ,’ अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कमल शाहीले भने ।
२५ शश्याको नयाँ अस्पतालको निर्माण कार्य जारी रहेको छ । अस्पताल निर्माणका लागि आवश्यक सामग्री लिन समेत समस्या हुँदै आएको बताइएको छ । बिरामी मात्र होइन अस्पतालमा आवश्यक उपकरणदेखि अन्य सामग्री लिन समेत समस्या रहदै आएको छ ।
स्वास्थ्य सेवा कार्यालय वल्लो दुनैमा रहेको छ भने अस्पताल पल्लो दुनैमा रहेको छ । कर्मचारी तथा स्वास्थ्यकर्मीलाई जान र आउन मात्र आधा घण्टा लाग्छ । अहिले स्वास्थ्य सेवा कार्यालयको माताहातमा जिल्ला अस्पताल रहेको छ । भेरी करिडोरभित्र दुई वर्षअघि मात्र डोल्पाको सदरमुकाम दुनै सडक सञ्जालसँग जोडिएको थियो ।
ठुलीभेरी त्रिपुरासुन्दरी नगरपालिकाबाट ल्याएइका बिरामीले सबै भन्दा बढी सास्ती भोग्दै आएका छन् । त्यस्तै तिब्ला सडक लिने भन्दै दुनै बजार नै जोखिममा पर्ने गरी पहाड खोलिदै छ तर अस्पताल जाने र आउने सडक निर्माणतर्फ कसैको पनि ध्यान नगएको भन्दै सर्वसाधारणहरू आक्रोशित भएका छन् ।