
काठमाडौं— प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो सम्पूर्ण ध्यान उत्पादन बढाउने र रोजगारी सृष्टि गर्नेतर्फ भएको बताएका छन् ।
सोमबार काठमाडौं विश्वविद्यालय सभाको ९७औँ बैठकमा उनले काठमाडौं विश्वविद्यालयले रोजगारी स्वदेशमै सृष्टि गर्न महत्वपूर्ण भूमिका खेल्नसक्ने बताए ।
उनले भने, ‘हामी सबैले मिहेनत गरेर उत्पादन वृद्धि र रोजगारीको वातावरण बनाउनेतिर जानु पर्दछ । आफूले उत्पादन गरेको जनशक्तिलाई देशभित्रै खपत गर्ने वातावरण बनाउनको निम्ति सरकारलाई सहयोग गर्ने जिम्मेवारी यो विश्वविद्यालयको हो । हामी अलिक धेरै नै राजनीति गर्ने जस्ता भयौँ । हरेक कुरामा राजनीति मात्र हुँदा देशमा आर्थिक, शैक्षिक र उत्पादनका विषयहरू पछि परे ।’
प्रधानमन्त्री प्रचण्डले अनुशासन कायम भएमा विकास निर्माणका कामले प्राथमिकता पाउने हुँदा अनावश्यक राजनीतिक खिचातानी गर्ने ठाउँ नहुने प्रष्ट पारे । उनले यस्तो अवस्था कायम भए देशले आर्थिक विकासमा फड्को हान्ने वातावरण रहने पनि बताए ।
उत्पादनको विकास भएर धनी हुँदै गए रोजगारी पनि सोही अनुरूप सृष्टि हुँदै जाने र दक्ष जनशक्ति पनि तयार हुने उनको भनाइ छ ।