
काठमाडौं— वन तथा वातावरणमन्त्री डा. वीरेन्द्रप्रसाद महतोले वातावरणलाई मैत्रीपूर्ण बनाउन आफैँबाट सुधार गर्न जरुरी रहेको बताएका छन् ।
सोमबार विश्व वातावरण दिवसको अवसरमा ललितपुरमा आयोजित कार्यक्रममा उनले प्रदूषणलाई कम गरी मैत्रीपूर्ण वातावरण बनाउन आफूबाट नै सुधारका काम थाल्न जरुरी रहेको उल्लेख गरे । ‘हामी ठूला भाषण गर्छौँ । तर, यहाँबाट निस्किने बित्तिकै चिल्लो गाडी चढ्छौँ, प्लास्टिक बाहिर फाल्छौँ,’ उनले भने, ‘पृथ्वीलाई बचाऊँ, आफैँबाट सुरुवात गरौँ ।’
उनले सबै नेपाली नागीरकले फोहोर गर्दिन भन्ने प्रण गर्न आवश्यक रहेको बताए । अहिले विश्वको चुनौती भनेको जलवायु परिवर्तनको निर्मूल पार्नु रहेकाले नेपालबाट नै यसको थालनी गर्नुपर्ने उनको भनाइ छ । उनले हरेक नेपालीले आफ्नो जन्मदिनमा एक बिरुवा रोप्दै जाने हो भने देश हराभरा हुने बताए ।
मन्त्री महतोले प्लास्टिकजन्य पदार्थको कम प्रयोग गरी पृथ्वी र प्रकृति बचाउन आवश्यक रहेको बताए ।