News Griha :: न्यूजगृह
ताप्लेजुङमा आगलागीबाट एक घर नष्ट

ताप्लेजुङ— ताप्लेजुङको मेरिङ्देन गाउँपालिका–४ लिङ्तेपमा आगलागीबाट एक घर जलेर नष्ट भएको छ । स्थानीय श्रीमान् लिम्बूको घर आगलागीले जलेर नष्ट भएको हो ।

आइतबार दिउँसो घरमा कोही नभएको समयमा भएको आगलागीबाट टिनको छानो भएको कच्ची घर जलेको मेरिङ्देन गाउँपालिका अध्यक्ष डम्बर हाङ्गामले जानकारी दिए ।

समयमा नै आगो नियन्त्रण नहुँदा घरसहित घरभित्र रहेका सम्पूर्ण घरायसी सामान पूर्णरूपमा जलेर नष्ट भएको बताइएको छ ।

क्षतिको विवरण भने एकिन भएको छैन । आगलागीबाट मानवीय क्षति भने नभएको बताइएको छ । आगलागी पीडित परिवारलाई गाउँपालिकाले केही नगदसहितका राहत सामग्री वितरण गर्ने तयारी भएको अध्यक्ष हाङ्गामले बताए ।

विद्युत् सर्ट भई आगो लागेको हुन सक्ने अनुमान गरिएको छ । विद्युत् सर्ट भएरै केही दिनअघि फुङलिङ नगरपालिका पनि एक घर जलेर नष्ट भएको थियो ।

पछिल्लो समय यस जिल्लामा विद्युत् सर्ट भई आगलागीका घटना हुने क्रम उल्लेख्य रहेको पाइएको छ ।

प्रकाशित मिति: सोमबार, जेठ २२, २०८०  ०६:४६
Weather Update