कालीकोटमा शिकारीले हानेको गोली लागेर घाइते किशोरीको मृत्यु

कालीकोट— कालीकोटमा शिकारीले हानेको गोली लागेकी किशोरीको मृत्यु भएको छ । नरहरिनाथ गाउँपालिका–५ रुप्साका १७ वर्षीया यलिसा सहकारीको मृत्यु भएको हो ।
१९ जेठ दिउँसो मकै गोड्दै गर्दा स्थानीय एक शिकारीको गोली लागेर सहकारी घाइते भएकी थिइन् । घाइते सहकारीको प्राथमिक स्वास्थ्य चौकी कुमालगाउँमा उपचार सम्भव नभएपछि कर्णाली प्रदेश अस्पताल सुर्खेत रिफर गरिएको थियो ।
उपचारकै क्रममा २१ जेठमा सुर्खेतमा मृत्यु भएको स्थानीय नेत्रराज बोगटीले बताए । गाउँकै एक स्थानीयले भरुवा बन्दुकले ढुकुरलाई हान्दा मकै गोड्दै गरेकी सहकारीको टाउकोमा गोली लागेको थियो ।
सहकारीको आइतबार नै पोष्टमार्टम गरी अन्त्येष्टि सुर्खेतको गिरीघाटमा गरिएको छ । घटनाका विषयमा अनुसन्धान भइरहेको उनले बताए ।
प्रकाशित मिति: सोमबार, जेठ २२, २०८० ०६:०१