
काठमाडौं— मोरङको सुन्दरहरैचा नगरपालिका मगौलियास्थित श्री माध्यमिक विद्यालयका लेखापाल ५० वर्षीय मनिल ढकालले आत्मदाहको प्रयास गरेका छन् ।
जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार उनले शनिबार बिहान ६ बजे विद्यालयको शौचालयमा गइ शरीरमा पेट्रोल खन्याएर आगो लगाएका थिए । आगोका कारण उनको शरीर जलेको छ । घटनालगत्तै प्रहरी उनको उद्धारमा खटिएको थियो । उपचारका लागि उनलाई कोशी अस्पताल लगिएको थियो । गम्भीर घाइते भएका कारण थप उपचारका लागि उनलाई काठमाडौंस्थित कीर्तिपुर अस्पताल रिफर गरिएको छ । उनलाई अहिले काठमाडौं ल्याईँदैछ ।
जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले उनको अवस्था गम्भीर रहेको बताए । उनले भने, ‘श्री माध्यामिक विद्यालयका लेखापलले बिहानै आत्मदाहको प्रयास गरेको देखियो । उनको स्वास्थ्य अवस्था गम्भीर छ । थप उपचारका लागि उनलाई काठमाडौं पठाइएको छ ।’
प्रहरीका अनुसार शरीरमा आगो लगाउनु अघि उनले मेटासिट खाएका थिए । उनी शनिबार बिहानै घरबाट निस्किएका थिए ।