News Griha :: न्यूजगृह
१२१ जातजातिको जनसंख्या एक प्रतिशतभन्दा कम

काठमाडौं— नेपालमा बसोबास गर्ने १२१ जातजातिको जनसंख्या कुल जनसंख्याको एक प्रतिशतभन्दा कम रहेको देखिएको छ । 

राष्ट्रिय तथ्यांक विभागले शुक्रबार सार्वजनिक गरेको तथ्यांकअनुसार मुलुकभर रहेका १४२ मध्ये २१ जाजातिको जनसंख्या मात्रै कुल जनसंख्याको एक प्रतिशतभन्दा धेरै छ । तथ्यांकअनुसार कुर्मी, मुसहर, धानुक, पासवान, मल्लाह, दशनामी, केवत, ठाकुर, कल्वार, राजवंशी, शेर्पा, कुमाल, तात्वे, खत्वे, भुजेल, माझी, नुनिया, सुन्दी, धोबी, लोहार, बिन, कुम्हार, सोनार, चेपाङ, रानाथारु, दुनुवार, सुनुवार, हल्वाई, बराई, सुर्दारको जनसंख्या कुल जनसंख्याको एक प्रतिशतभन्दा कम छ । 

त्यस्तै, कहर, सन्थाल, बानियाँ, कथाबानियाँ, बादी, उराँव, राजपुत, अमत, गन्गाई, लोध, गडेरी, घले, मारवाडी, कायस्त, कुलुङ, थामी, भुमिहार, राजभार, रौनियर, धिमाल, खवास, ताजपुरिया, कोरी, डोम, माली, दराई, याक्खा, भोटे, बान्तवा, राजधोव, धुनिया, पहरी, बंगाली, गोध, चाम्लिङ, छन्त्याल, थकाली, बादी, बोटे, पुन, ह्योल्मो, खातिक, यम्फु, केवरातको पनि जनसंख्या एक प्रतिशतभन्दा कम छ । 

एक प्रतिशतभन्दा कम जनसंख्या हुने जाति बराम, देव, नाछिरिङ, गाइने, बाहिङ, थुलुङ, जिरेल, खालिङ, आठपहरिया, डोल्पो, सर्बरिया, मेवाहाङ, ब्यासी, दुरा, मेचे, राजी, साम्पाङ, खुलावट, चुम्बी, धरीकार, मुण्डा, लेप्चा, कुशवाडिया, हायु, बेल्दार, हल्खोर, लुहारुङ, कुमार, धँडी, डोने, मुगाल, पन्जाबी, किसान, ल्होपा, कलार, फ्रि, कोचे, तोप्केगोला, राउटे, वालुङ, ल्होमी, सुरेल, कुसुण्डा, बनकरिया र नुराङ पनि हुन् । 

२१ जातजातिको जनसंख्या एक प्रतिशतभन्दा धेरै 

विभागले ०७८ मा जनगणना गरेको थियो । सोही गणनाअन्तर्गत विभागले शुक्रबार जातजाति, भाषा र धर्मसम्बन्धी विवरणले सार्वजनिक गरेको हो । तथ्यांकअनुसार मुलुभरको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५७८ पुगेको छ । जसमध्ये २१ जातजातिको जनसंख्या कुल जनसंख्याको एक प्रतिशतभन्दा धेरै छ । 

तथ्यांकअनुसार मुलुकभर सबैभन्दा धेरै जनसंख्या क्षेत्रीको रहेको छ । मुलुकभर क्षेत्रीको जनसंख्या कुल जनसंख्याको १६.४५ प्रतिशत रहेको छ । त्यसपछि पहाडी ब्राह्मणको सबैभन्दा धेरै ११.२९ प्रतिशत रहेको छ । त्यस्तै, मगरको जनसंख्या ६.९ प्रतिशत गरकोे छ । थारुको ६.२ प्रतिशत रहेको छ । तामाङको ५.६२, विश्वकर्माको ५.०४, मुसलमानको ४.८६, नेवारको ४.६, यादवको ४.२१, राईको २.२, परियारको १.९४ प्रतिशत रहेको छ । गुरुङको १.८६, ठकुरीको १.७, मिजारको १.५५, तेलीको १.४८, लिम्बुको १.४२, चमारको १.३५, कुशहवाको १.२२ रहेको छ । 

त्यस्तै, ११ जातिको संख्या एक हजारभन्दा कम रहेको छ । तथ्यांकअनुसार कलार, फ्रि, कोचे, तोप्केगोला, राउटे, वालुङ, ल्होमी, सुरेल, कुसुण्डा, बनकरिया र नुराङ जातिको जनसंख्या एक हजारभन्दा कम छ । जसमध्ये नुराङ जातिको त जनसंख्या देशभर ३६ जना मात्रै रहेको छ । 

प्रकाशित मिति: शनिबार, जेठ २०, २०८०  ११:३०
Weather Update