News Griha :: न्यूजगृह
साइकल संस्कृतिमार्फत मुलुकको पर्यटन प्रवर्द्धनमा जुटौँ : उपसभामुख राना

काठमाडौं— उपसभामुख इन्दिरा राना मगरले स्वस्थ रहन साइकल संस्कृतिको विकासलाई बढावा दिनुपर्ने बताएकी छन् । यो संस्कृतिले मुलुकको पर्यटन प्रवर्द्धन हुने उनको दाबी छ ।

पर्यावरण स्वच्छ बनाउने उद्देश्यका साथ मनाइएको विश्व साइकल दिवसमा रानाले साइकल यात्राबाटै पर्यावरण प्रवर्द्धन र देशको पर्यटन विकास हुने बताइन् । उनले भनिन्, ‘हाम्रो जस्तो भूगोलमा सडक नबने पनि साइकल लिएर डाँडाकाँडा जान सक्छौँ । देशको कुनाकुना मात्र होइन, शे–फोक्सुन्डो र सगरमाथको बेस क्याम्पसम्म पनि साइकल लिएरै जान सकिन्छ । यसमा युवाशक्ति लाग्न आवश्यक छ ।’ 

उनले जलवायु परिवर्तनका  कारण सुन्दर हिमाल काला पत्थर बन्न थालेको भन्दै चिन्ता प्रकट गरिन् । साथै, बढ्दो जलवायु परिवर्तन न्यूनीकरण गर्न पेट्रोलियम पदार्थको खपत घटाउनुपर्ने र यसका लागि साइकल प्रयोगलाई बढावा दिनु पर्ने उनको भनाइ थियो । साइकल प्रयोगले आम नागरिकलाई शारीरिक तन्दुरुस्त बनाउने र आर्थिक रूपमा समेत सहज हुने उनको धारणा थियो । 

र्‍याली दरबारमार्गबाट सुरु भएको थियो भने सुन्धारा, त्रिपुरेश्वर, जलम, दरबारमार्ग, सिटी सेन्टर हुँदै सानो गौचरणमा पुगेर टुंगिएको थियो । र्‍याली साङ्ग्रीला डेभलपमेन्ट बैंङ्क र साइकल संस्कृति अभियान सञ्जालले संयुक्त रूपमा आयोजना गरेको थियो ।  

प्रकाशित मिति: शनिबार, जेठ २०, २०८०  ११:२०
Weather Update