News Griha :: न्यूजगृह
NLIC-Below-Navigation-innerNLIC-Below-Navigation-inner
सय दिनमा पाथीभराको आम्दानी ६६ लाख बढी

मंगलबारे— पाथीभरा मन्दिरमा एक सय दिनमा ६६ लाखभन्दा बढी भेटी संकलन भएको छ । इलामको रोङ गाउँपालिकामा रहेको मन्दिरको स्वामित्व गत फागुनदेखि नयाँ समितिले लिएपछि आम्दानी सार्वजनिक गर्न सुरु गरिएको हो ।

समितिका अनुसार फागुनमा २१ लाख ७० हजार दुई सय ९४, चैत महिनामा २० लाख ६४ हजार सात सय ४३ र वैशाखमा १८ लाख ८५ हजार एक सय पाँच भेटी संकलन भएको छ । त्यस्तै (जेठ) हालसम्म पाँच लाखभन्दा बढी रकम संकलन भइसकेको छ ।

यसअघि मन्दिरमा हुने रकम समितिले पारदर्शीरुपमा सार्वजनिक नगरेको भन्दै स्थानीयले आवाज उठाउँदै आएका थिए । रकम अपारदर्शी भएको सम्बन्धमा जिल्ला प्रशासन कार्यालयमा उजुरीसमेत परिसकेको छ ।

Prabhu Bank

नयाँ समिति आएपछि संकलित रकम सार्वजनिक गर्न सुरु गरिएको गाउँपालिकाका अध्यक्ष मणिकुमार स्याङ्बो सुवासले बताए । ‘पाथीभरा मन्दिर व्यवस्थापनको स्वामित्व परिवर्तन भएकोे एक सय दिनमा ६६ लाख ६१ हजार तीन सय ७८ भेटी संकलन भएको छ । यसले नयाँ समितिलाई काम गर्ने हौसला थपेको छ’,उनले भने ।

स्थानीय तह निर्वाचनपछि पहिलो कार्यकालमै कार्यविधि निर्माण भए पनि कार्यान्वयनमा आउन सकेको थिएन । हाल मन्दिर सञ्चालन र व्यवस्थापनको जिम्मेवारी स्थानीय तहले लिएको छ ।

यसअघि मन्दिरमा संकलित रकम पारदर्शी नभएको भन्दै आवाज उठेपछि गाउँपालिका र सर्वदलीय बैठकले मन्दिरको पुरानो समितिको हिसाब नियन्त्रणमा लिएर अनुसन्धान गर्न जिल्ला प्रशासनलाई पत्र पठाउने निर्णय गरेको छ ।

यसअघिको समितिले पछिल्लो छ वर्षसम्म मन्दिरको आयव्यय सार्वजनिक गरेको थिएन । राजनीतिक दल र स्थानीय तहले जिल्ला प्रशासन कार्यालयसँगको सहकार्यमा पुरानो समितिको विवरण सार्वजनिक गराउने प्रयासमा गर्दै १४ जेठमा सार्वजनिक सुनुवाइ तोके पनि कार्यक्रम भने सञ्चालन हुन सकेन ।

लेखा परीक्षकले समयमै आवश्यक सम्पूर्ण कागजात प्राप्त गर्न नसकेका कारण प्रतिवेदन तयार हुन नसक्दा सार्वजनिक सुनुवाइ हुन सकेको थिएन ।

यसअघिको समितिले भने यही ३२ जेठमा सार्वजनिक सुनुवाइ गर्ने बताएको छ । इलामका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोख्रेलले पालिकाले पठाएको पत्रका आधारमा पुरानो समितिलाई समय तोकेरै साधारणसभा गर्न लगाउने र संस्थाको लेखा परीक्षण प्रतिवेदन हेरेपछि फरक परेमा कानुनी प्रक्रिया अघि बढाइने बताए ।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: शनिबार, जेठ २०, २०८०  ०८:११
sagarmatha cementsagarmatha cement
Weather Update