
झापा— प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले सत्कर्म नै सबैभन्दा ठूलो धर्म हुने र धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण र प्रवर्द्धनबाट मुलुकको पर्यटनमा टेवा पुग्ने बताएका छन् ।
गृहजिल्ला झापाको निर्वाचन क्षेत्र नं १ र २ को सीमास्थित पाउ पाथीभरा धाममा आयोजित सप्ताहव्यापी श्रीमद्भागवत महापुराणको आज एक समारोहबीच उद्घाटन गर्दै उनले पाथीभरा माताको मन्दिर कोशी प्रदेशको सांस्कृतिक पहिचान रहेको बताए ।
ताप्लेजुङमा पाथीभरा माता, इलाममा सानी पाथीभरा माता र झापाको चारआलीमा पाउ पाथीभरा माताको मन्दिर रहेको उल्लेख गर्दै सभामुख घिमिरेले स्थापनाको आठ वर्षमै पाउ पाथीभरा माताप्रति धर्मानुरागीहरूले दर्शाएको आस्था र विश्वासले यस क्षेत्रकै विकासमा महत्त्वपूर्ण सघाउ पुगेको बताए ।
महापुराणको आयोजनाले सत्कर्ममा लाग्न समस्त मानव समुदायलाई प्रेरित गर्ने विश्वास व्यक्त गर्दै सबै धर्मले मानव कल्याण र शान्तिकै सन्देश बोकेको हुँदा धार्मिक अनुष्ठान मार्फत् समाजको उन्नति र जागरणमा योगदान पुग्ने उनको भनाइ थियो ।