News Griha :: न्यूजगृह
नागरिक अगुवाको चिन्ता– लोकतन्त्र क्षयीकरण हुन थाल्यो

काठमाडौं— नागरिक समाजका अगुवाले भ्रष्टाचारका कारण लोकतन्त्र क्षयीकरण हुनथालेकाले लोकतान्त्रिक शासन व्यवस्थाको रक्षाका लागि भ्रष्टाचारविरुद्धको अभियानमा सहभागिताका लागि आह्वान गरेका छन् ।

मानवअधिकार तथा शान्ति समाजद्वारा २८औं स्थापना दिवसको सन्दर्भमा शुक्रबार आयोजित कार्यक्रममा नागरिक अगुवा डा.देवेन्द्रराज पाण्डेले भ्रष्टाचारका कारण लोकतन्त्रको क्षयीकरण हुन थालेकोप्रति चिन्ता व्यक्त गरे ।

‘मानवअधिकारदेखि मानवताको उच्चतम अभिव्यक्तिसम्म’विषयक गोष्ठीमा उनले लोकतन्त्रको विकल्प खोज्न नहुने र भ्रष्टाचारमा संलग्नलाई दण्डित गर्न ढिलो गर्न नहुने बताए ।

नागरिक अगुवा कृष्ण पहाडीले शीर्ष नेता भ्रष्ट भएका कारण नागरिकमा निराशा बढ्दै गएको भन्दै भ्रष्ट नेतालाई कारबाही गरी लोकतन्त्र बचाउनुपर्ने बताए ।

समाजका कावा सभापति कृष्णबहादुर रावलको सभापतित्वमा सम्पन्न कार्यक्रममा महासचिव रेनुका पौडेलले शान्ति समाजद्वारा तयार गरिएको ‘मानवअधिकारदेखि मानवताको उच्चतम अभिव्यक्तिसम्म’ शीर्षकको अवधारणापत्र प्रस्तुत गरेका थिए ।

अवधारणापत्रमा मानवअधिकार, शान्ति, लोकतन्त्र, अहिंसा, सद्भाव, सहिष्णुता, सामाजिक न्याय, जगतमुखी, जीवनमुखी, सेवामुखी उद्देश्य, स्वयंसेवी÷स्वाबलम्बी अन्दोलन, मानवताको उच्चतम अभिव्यक्ति उपशीर्षकमा शान्ति समाजको कार्यक्षेत्र र वर्तमान सन्दर्भमा केन्द्रित अभियानबारे प्रकाश पारिएको छ ।

कार्यक्रममा नागरिक अगुवा डा.केदारनरसिंह केसी, समाजका पूर्वसभापति तथा सल्लाहकारद्वय उत्तम पुडासैनी र गोविन्द खनाल, पूर्वसभापतिहरु डा.गङ्गाधर अधिकारी र होमकान्त चौलागाई, कोषाध्यक्ष किरण ढकालले भ्रष्टाचार न्यूनीकरण अभियानमा सबैको एक मत हुनुपर्नेमा जोड दिए ।

स्रष्टा अर्जुन पराजुली, रामबहादुर पहाडी र रत्ननीधि रेग्मीले भ्रष्टाचारविरुद्ध कविता प्रस्तुत गरेका थिए ।

प्रकाशित मिति: शुक्रबार, जेठ १९, २०८०  १८:२२
Weather Update