News Griha :: न्यूजगृह
वैदेशिक रोजगारीमा गएका श्रमिकलाई मनोपरामर्श आवश्यक 

काठमाडौं— वैदेशिक रोजगारीमा गएका श्रमिकहरूलाई मनोपरामर्श आवश्यक भएको सरोकारवालाले बताएका छन् । 

शुक्रबार काठमाडौंमा आयोजित एक अन्तरक्रियामा सहभागी सरोकारवालाले वैदेशिक रोगजारीमा जानेहरूमा मानसिक र गम्भीर प्रकृतिका शारीरिक समस्या धेरै हुने गरेको भन्दै स्थानीय तहबाटै सचेतनामूलक कार्यक्रम आवश्यक भएको बताएका हुन् । 

धेरैजसो वैदेशिक रोजगारीमा खाडी मुलुक गएका नेपाली श्रमिकहरूमा मृगौला फेल हुने, मुटुको समस्या, मानसिक रोगलगायत समस्याहरू पाइएको अधिकारकर्मी सुनिल न्यौपानेले बताए । 

विदेश गएर फर्किएका श्रमिकहरूको केन्द्र सरकारले प्रदेश तथा स्थानीय सरकारसँग पहल गरी श्रमिकहरूलाई विदेश जानु पूर्व र फर्किएपछि स्वास्थ्य परीक्षण अनिवार्य गराउनुपर्ने उनको भनाइ छ ।

पौरखी नेपालद्वारा आयोजित कार्यक्रममा सहभागी अधिकारकर्मीहरूले वैदेशिक रोजगारीमा गएका र फर्किएर आएका श्रमिकहरूमा मानसिक र शारीरिक समस्या बढ्दो रूपमा रहेको पाइएको भन्दै त्यसबारे सबै बेलैमा सचेत हुनुपर्ने धारणा राखे ।

विदेश गएर फर्किएका धेरै श्रमिक दीर्घ रोग र मानसिक रोगको सिकार भएको पौरखीको ठहर छ । 

पौरखी नेपालले लामो समयदेखि वैदेशिक रोजगारीमा गएका आप्रवासी श्रमिकको हकअधिकारलाई कानुनी र व्यवहारिक रूपमा सुनिश्चित र सुरक्षित गर्न काम गर्दै आएको छ । 

प्रकाशित मिति: शुक्रबार, जेठ १९, २०८०  १७:३९
Weather Update