
हेटौँडा— मकवानपुरको कैलाश गाउँपालिकाले बालविवाह रोक्नका लागि विवाह अगाडि १२ पास गरेको छात्रालाई २० हजार रुपैयाँ नगद हस्तान्तरण गरेको छ ।
गाउँपालिकाले एक कार्यक्रमको आयोजना गर्दै चेली प्रोत्साहन कार्यक्रमअन्तर्गत छ जना चेलीलाई सम्मान गरेको हो । गाउँपालिकाका अध्यक्ष लोकबहादुर मुक्तानले पालिकाको वार्षिक नीति तथा कार्यक्रममा समावेश भएका कार्यक्रमअन्तर्गत प्रोत्साहन र सम्मान गरेको बताए ।
उनका अनुसार कैलाश–६ की संगीता ढुंगाना, प्रतिभा अर्याल र लक्ष्मी श्रेष्ठ, कैलाश–१० की सरुया प्रजा र उर्मिला थिङ, त्यसैगरी कैलाश–२ की लक्ष्मी मुक्तानलाई नगदसहित सम्मान गरिएको छ ।
गाउँपालिका अध्यक्ष मुक्तानले भने,‘विवाहअघि कम्तीमा पनि १० जोड २ पास गर्नुपर्छ र २० वर्ष पूरा हुनुपर्छ भन्ने सन्देश दिनका लागि प्रोत्साहन कार्यक्रम राखिएको हो ।’
देशभरका स्थानीय तहमध्ये पृथक् कार्यक्रमको सुरुआत गरेको उनको भनाइ छ । सम्मानित छात्रा सरुया प्रजाले गाउँपालिकाले चेली प्रोत्साहन कार्यक्रममार्फत सम्मान गरेकोमा आफूलाई उत्साह मिलेको र सामाजिक समस्याको रूपमा रहेको बालविवाह, विद्यालय नजानेजस्ता समस्या समाधानमा लाग्न ऊर्जा मिलेको बताइन् ।