News Griha :: न्यूजगृह
विपद् व्यवस्थापनका लागि तयारी अवस्थामा रहन सुरक्षा निकायलाई गृहमन्त्रीको निर्देशन

काठमाडौं— उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले वर्षा याममा हुने विपद् व्यवस्थापनका लागि तयारी अवस्थामा रहन सुरक्षा निकायलाई निर्देशन दिएका छन् ।

बिहीबार चितवनस्थित कुरिनटार सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालयमा गोताखोर तालिमको समापन कार्यक्रमलाई सम्बोधन गर्दै गृहमन्त्री श्रेष्ठले विपद् व्यवस्थापनका लागि तयारी अवस्थामा रहन निर्देशन दिएका हुन् ।उनले वर्षायाममा बाढी, पहिरो र डुबानका समस्याहरु आउने भन्दै यसको व्यवस्थापनका लागि जुट्नुपर्ने बताए । 

apf1685624846.jpg

‘वर्षाको सिजन सुरु हुन लागेको छ । बाढी, पहिरो, डुबानका समस्याहरु देखापर्न सक्छन् । सडकहरुमा पहिरो जाने, बाटो अवरुद्ध हुने, दुर्घटना हुने खतरा बढ्नसक्छ । त्यस्तो स्थितिमा भर्खरै मात्र पनि हामीले केन्द्रीय विपद् समितिको बैठक बसेर आवश्यक तयारीका काम अगाडि बढाएका छौँ । विपद्पर्दा जनतालाई राहत पुर्‍याउने विशेष जिम्मेवारी दिएको छ । त्यो जिम्मेवारीबोध गर्दै आफ्नो सीपको अधिकतम प्रयोग गरेर तपाईंहरुले जनतालाई विपद् पर्दा सेवा गर्नुहुनेछ । त्यसको निम्ति आफूलाई तयार पार्ने संकल्पका साथ तपाईंहरु प्रस्तुत हुनुभएको छ । त्यो निश्चय नै सराहनीय छ,’गृहमन्त्री श्रेष्ठले भने ।

उनले सशस्त्र प्रहरीले विगतमा विपद्को समयमा गरेको राहत र उद्धारको काम उदाहरणीय र प्रशंसनीय रहेको पनि बताए ।

प्रकाशित मिति: बिहीबार, जेठ १८, २०८०  १८:४९
Weather Update