भरतपुर महानगरले हटाउन सुरु गर्यो अवैध संरचना

चितवन— भरतपुर महानगरपालिकाले महानगर क्षेत्रभित्र अवैध र मापदण्ड विपरीत बनेका भौतिक संरचना हटाउन सुरुआत गरेको छ ।
भरतपुर–१ नारायणी नदी किनारबाट अवैध संरचना हटाउन सुरु गरिएको हो । अवैध संरचना हटाउने क्रममा बिहीबार नारायणी नदी किनारका आठ संरचना हटाउन लागिएको छ ।
यस्तै सोही क्षेत्रमा ३५ संघसंस्थाले अवैध संरचना निर्माण गरेको महानगरपालिकाले जनाएको छ । ती संरचनासमेत भत्काउनका लागि सूचना जारी गरिएको छ ।
भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले भरतपुरको २९ वटै वडामा अवैध संरचना हटाउने कार्य सुरु भएको बताइन् । मंसिरदेखि नै कानुनी प्रक्रिया सुरु गरिएको बताउँदै उनले अब सबै वडामा अवैध संरचना हटाउने काम सुरु गरिने बताइन् ।
महानगरभित्र २९ वडामा रहेका अवैध संरचना, सरकारी जग्गामा मापदण्ड विपरीतका अवैध संरचना एकिन गर्ने काम सकिएको उनले जानकारी दिइन् ।
प्रकाशित मिति: बिहीबार, जेठ १८, २०८० १८:०३