News Griha :: न्यूजगृह
गर्मी बढेपछि झापाका दुई स्थानीय तहमा विद्यालय बन्द
प्रतीकात्मक तस्बिर ।

झापा— तापक्रममा अत्यधिक वृद्धि भएर गर्मी बढेपछि झापाका दुई स्थानीय तहमा विद्यालय बन्द गरिएका छन् । 

गर्मी बढेसँगै मेचीनगर नगरपालिका र कचनकवल गाउँपालिकाले पालिकाभित्र सञ्चालित विद्यालयमा बिदा गर्न सूचना जारी गरेका हुन् । मेचीनगरका शिक्षा शाखा प्रमुख होमनाथ भण्डारीले सूचना जारी गर्दै आगामी बर्खे विदाबाट कट्टा हुने गरी विद्यालयमा बिदा दिन अनुरोध गरेको बताए । 

अत्यधिक गर्मीका कारण विद्यार्थीको स्वास्थ्यमा समेत असर पर्न थालेकाले मेचीनगरभित्र सञ्चालित सबै सामुदायिक, संस्थागत तथा धार्मिक विद्यालयमा बिदा दिन सूचनामा भनिएको छ । 

कचनकवलका सामुदायिक विद्यालयमा पाँचदिन बिदा दिइएको छ । प्रमुख प्रशासकीय अधिकृत हिराकुमारी यादवले गर्मीका कारण पठनपाठनमा समस्या आएकाले पाँच दिन विद्यालय बिदा गरिएको जानकारी दिए । 

१८–२२ जेठसम्म विद्यालय बन्द गर्ने निर्णय गरिएको यादवले बताए । हाल दिइएको बिदा बर्खे बिदामा मिलान गरिनेछ । एक सातायता झापाको तापक्रम ३९ डिग्री सेल्सियससम्म पुगेको छ । रासस

प्रकाशित मिति: बिहीबार, जेठ १८, २०८०  १३:११
Weather Update