News Griha :: न्यूजगृह
‘रिकभरी’को नाममा दलितमाथि ज्यादती भएको भन्दै बैंक तथा वित्तीय संस्थालाई चेतावनी

काठमाडौं— दलितका लागि दलित आन्दोलन नेपालले ‘रिकभरी’को नाममा दलित समुदायका ऋणीहरूमाथि ज्यादती नगर्न बैंक तथा वित्तीय संस्थाहरूलाई चेतावनी दिएको छ । 

दलित समुदायको पक्षमा विभिन्न ८४ बुँदे माग राखेर आन्दोलन गरिरहेको समूहले सुर्खेतका बैंक तथा वित्तीय संस्थाहरूको नाममा पत्र पठाउँदै यस्तो चेतावनी दिएको हो । 

‘विशेषगरी दलित समुदायलाई लक्षित गरेर बैंक तथा वित्तीय संस्थाहरूले अत्यधिक दबाब बढाएको पाएपछि हामी बाध्य भएर त्यसविरुद्ध आन्दोलन गर्ने तयारी गरेका हौँ,’ दलितका लागि दलित आन्दोलन नेपालका संयोजक खगेन्द्र सुनारले भने, ‘रिकभरीको नाममा अत्यधिक दबाब दिएपछि मानिसहरू आत्महत्या गर्नेसम्मको सोँच राख्ने कुरा निकै गम्भीर कुरा हो ।’

संयोजक सुनारले बैंक तथा वित्तीय संस्थाहरूले समुदायका ऋणीहरूको हकमा आवश्यक लचकता अपनाउनुपर्ने माग गरिएको बताए । ‘बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋण फिर्ता गर्ने सम्बन्धमा समाजको पिँधमा परेको समुदायलाई केही सहुलियत दिन जरुरी छ भनेका हौँ,’ उनले भने, ‘यसको मतलब समुदायका ऋणीहरूले कर्जा बापतको रकम फिर्ता नगर्ने भन्ने हाम्रो माग होइन ।’

कर्जा रिकभरीको नाममा बैंक तथा वित्तीय संस्थाहरूले निम्न वर्गका दलित समुदायका मानिसहरूमाथि अत्यधिक दबाब बढाएको उनले बताए । आर्थिक मन्दीको असरले गर्दा थुप्रै दलित समुदायका मानिसहरूको रोजगारी गुम्नुका साथै आयआर्जनको बाटो बन्द भएको अवस्थामा वित्तीय संस्थाहरूले उनीहरूलाई समय दिनुपर्ने माग राखेको संयोजक सुनारले बताए । 

बैंक तथा वित्तीय संस्थाहरूलाई आन्दोलनको तर्फबाट चेतावनीयुक्त पत्र गएपछि उनीहरूले प्रशासनमा यसविरुद्ध उजुरी दिएका छन् । आन्दोलनको विपक्षमा उजुरी परेपछि सुर्खेतको स्थानीय प्रशासनले आन्दोलनकारी र बैंक तथा वित्तीय संस्थाहरूलाई छलफलको लागि बोलाएको छ । 

image_64834411685602868.JPG

प्रकाशित मिति: बिहीबार, जेठ १८, २०८०  १२:४९
Weather Update