
काठमाडौं— विश्व सुर्तीजन्य पदार्थरहित अभियान सञ्चालनमा विराटनगर महानगरपालिका सर्वोत्कृष्ट भएको छ । अभियान मुलुकभरका ७ सय ५३ वटै स्थानीय तहमा सञ्चालन भएको थियो ।
विराटनगर महानगरपालिकाले सबै स्थानीय तहलाई उछिनेर सर्वोत्कृष्ट पुरस्कार पाएको छ । विश्व सुर्तीजन्य पदार्थरहित दिवसमा महानगरपालिकालाई पुरस्कार दिइएको हो । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले महानगरपालिकालाई सर्वोत्कृष्ट पुरस्कार दिएका हुन् । पुरस्कार महानगरपालिकाका मेयर नागेश कोइरालाले लिएका छन् । पुरस्कार वितरणका लागि बुधबार काठमाडौंमा विशेष कार्यक्रम गरिएको थियो ।
पुरस्कार जितेपछि महानगरपालिकाका मेयर कोइरालाले सुर्तीजन्य अभियान सञ्चालनमा ७ सय ५३ स्थानीय तहमध्ये विराटनगर महानगरपालिका सर्वोत्कृष्ट हुनु गर्वको विषय रहेको बताए । उनले भने, ‘हामीले महानगरपालिकाभर सुर्तीजन्य पदार्थरहित अभियान सञ्चालन गरेका थियौँ । अभियान प्रभावकारी बन्यो । सोही कार्यलाई आज कदर भएको छ । हामी ७ सय ५३ वटा स्थानीय तहमध्ये सर्वोत्कृष्ट भएका छौँ ।’