
काठमाडौं— भारतको नयाँ संसद् भवनभित्र काठमा कुँदिएको अखण्ड भारत नामक नक्सामा नेपाली भूभाग लुम्बिनी र कपिलवस्तुलाई समेटेको विषय विभिन्न सञ्चारमाध्यबाट सार्वजनि कभएकोप्रति राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सरकारको ध्यानाकर्षण गराएको छ ।
मंगलबारबाट विभिन्न सञ्चार माध्यममा प्रकाशित समाचारप्रति रास्वपाको गम्भीर ध्यानार्कषण भएको एक विज्ञप्ति मार्फत जानकारी गराएको छ । यसबारे बुधबार विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीले भारत भ्रमणको क्रममा वास्तविकताबारे सत्यतथ्य सार्वजनिक गर्नुपर्ने माग रास्वपाले गरेको छ ।
‘भारतको नयाँ संसद् भवनमा काठमा कुँदिएको ‘अखण्ड भारत’ नामक नक्सामा नेपालको लुम्बिनी र कपिलवस्तु पनि रहेको भन्ने विभिन्न सञ्चार माध्यमबाट सार्वजनिक भएको समाचारप्रति राष्ट्रिय स्वतन्त्र पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ,’ विज्ञप्तिमा थप लेखिएको छ ।
नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता र स्वाधीनतासँग प्रतिकूल हुने कुनै पनि कदम राष्ट्रिय स्वतन्त्र पार्टीलाई स्वीकार्य नभएको तथा प्रधानमन्त्रीको आसन्न भारत भ्रमणको क्रममा यो विषय उठान गरी जनता समक्ष यसको सत्यतथ्य सार्वजनिक गनुपर्ने जोडदार माग रास्वपाले गरेकाे छ ।